चितवन समाचार डटकम,
१७ असार । सस्थागत विद्यालयमा कार्यरत शिक्षकहरुको सस्था इष्टुले शिक्षक तथा कर्मचारीहरुकाे तलब तत्काल उपलब्ध गराउन विद्यालय सञ्चालकसंग माग गरेका छन् ।
सस्थागत विद्यालय शिक्षक युनियन चितवनले वुधबार भरतपुरमा पत्रकार सम्मेलन गर्दै जिल्लामा छ महिनादेखि शिक्षकले तलब नपाएको भन्दै दैनिकी सञ्चालन गर्न समेत समस्या परेको जनाएको छ । युनियन चितवनका अध्यक्ष जनकराज घिमिरेले जिल्लामा रहेका १६५ निजी विद्यालय मध्य ८० प्रतिशतले तलब नदिएको जानकारी दिनु भयो ।
हामीले धेरै पटक तलब दिनको लागि माग गरेका छौ तर दिईएको छैन उहाले भन्नु भयो । कतिपय विद्यालयमा अघिल्लो शैक्षिक सत्रदेखिको तलब बाँकी रहेको छ । अधिकांस विद्यालयले माघ महिनादेखिको तलब शिक्षकलाई नदिएको घिमिरेले जानकारी दिनु भयो । पढाइ र परीक्षामा शिक्षकलाई केन्द्रीत गराउने अहिले आएर लकडाउनकाे बाहानामा तलव दिन सकिदैन भन्दै वेवास्ता गरेको उहाँको भनाइ छ ।
पटकपटक ताकेता गरिरहदा पनि सुनुवाइ नभएकोले अब आन्दोलनमा उत्रनुकाे बिकल्प नरहेको उहाँले बताउनुभयो ।
सरकारी शिक्षकहरुले नियमित तलव पाउनेे तर निजी बिद्यालयका शिक्षक भाेकभाेकै बस्नुपर्ने किन ? घिमिरेको प्रश्न छ । सरकारी बराबरको सेवा सुबिधा दिने नितिगत ब्यवस्था कार्यान्वयन गराउन राज्यले पहलकदमि लिनुपर्ने उहाँले स्पष्ट पार्नुभयाे ।
विद्यालय नाफामा हुदा शिक्षकलाई भाग नदिने अहिले समस्या आएपछि बहाना बनाउन नहुने युनियनको भनाइ छ । निजी विद्यालयहरु प्रालिमा दर्ता भएकाले नाफा मुखी सस्था भएपछि कमाएको वेलाको पैसा अहिले शिक्षकलाई दिनु पर्ने युनियनका केन्द्रीय उपाध्यक्ष केशवराज पाठकले बताउनु भयो । अभिभावकसंग पैसा उठाउनको लागि अनलाइन कक्षाको नाटक मञ्चन गरेको भन्दै तत्काल बन्द गर्न अनुरोध गर्नु भयो ।
तलब नपाएको कारण शिक्षकको चुलो नबल्ने अवस्था आएकाले तत्काल चैत महिनासम्मको र पछि लकाउन अबधीसम्मको तलब उपलब्ध गराउन माग गर्नु भयो । शिक्षकले तलब नपाए देशव्यापीरुपमा आन्दोलन चर्काउने उहाँको भनाइ छ । चितवन जिल्लामा छ हजार शिक्षक कार्यरत रहेको युनियनले जनाएको छ ।


