माडी नगरसभामा अन्तरजातीय जाेडि बने प्रमुख अतिथि

अमिर रामदाम,
चितवन(माडी), १० असार ।
अन्तरजातीय विवाह गर्न खोजिएको सन्दर्भमा गत जेठ १० गते पश्चिम रूकुमको चौरजहारीमा भएको विभत्सपूर्ण घटना, अंगिरा पासीको बलात्कार पछि हत्या र शम्भु सदाको प्रहरी हिरासतमा भएको हत्या प्रकरणको कारण यतिबेला मुलुकमा दलित समुदायको आन्दोलनले उत्कर्ष लिएको छ ।

तर माडी नगरपालिका भित्र जातीय विभेद नभएको र समाजमा विभेद विरूद्ध भनाईमा मात्र नभई व्यवहारमा उतार्न पर्छ भन्ने सकारात्मक सन्देश प्रवाह गर्न नगरपालिकाले आज सम्पन्न गरेको पाँचौ नगरसभामा अन्तरजातीय विवाह गरि समाजमा उदारणीय बन्नुभएका पत्रकार शिवजी गायक र सचिता तिवारीको जोडीलाई प्रमुख अतिथि बनाएको छ ।

आजको नगर सभामा प्रमुख अतिथि रहेका पत्रकार शिवजी गायकले जातीय विभेद अन्त्यका लागी यस नगरपालिकाले जुन किसिमको कदम उठाएको छ यो स्वागत योग्य रहेको बताएका छन् । उनले देशमा विभेद विरूद्धको आन्दोलन चलिरहेको अवस्थामा माडी नगरपालिकाले अपनाएको यो कदमको सबैले अनुसरण गर्नुपर्ने बताएका छन् । मुलुकमा अन्तरजातीय विवाहको विषयलाई लिएर विरोध प्रदर्शन भैरहेको बेला माडी नगरपालिकाले अन्तरजातीय विवाहबाट सम्बन्धमा रहेको हाम्रो जोडीलाई सम्मान दिनु भनेको समुदाय प्रति उच्च मुल्यांकन भएको उनले तर्क गरेका छन् ।

गायक सामुदायिक रेडियो प्रसारक संघ नेपालका पूर्व उपाध्यक्ष र जागरण मिडिया सेन्टर नेपालका पूर्व महासचिव हुन् । उनी पछिल्लो समय माडी क्षेत्रमा कृषि खेतीमा संलग्न छन् । उनी नेपाल कै नमुना माडीमा अवस्थित १०० विगाहा क्षेत्रफलमा रहेको सामुहिक खेती कान्तिपुरका प्रबन्धक र अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समिति माडीका अध्यक्ष समेत रहेका छन् ।

चितवन जिल्लाको दक्षिणी सिमानामा रहेको माडी क्षेत्र भरतपुरबाट करिब ३८ किमीको दुरीबाट शुरु हुन्छ ।
तत्कालीन गर्दी, बघौडा, कल्याणपुर र अयोध्यापुरी गाविस रहेको यस क्षेत्रलाई एकिकृत रुपमा माडी क्षेत्र भनिएको र नेपाल सरकारले २०७१ साल मंसिर १६ गते चारवटा गाविसलाई मिलाएर माडी नगरपालिका गठन गरेको थियो ।माडी नगरपालिका भित्र दलित समुदाय भित्र पर्ने विश्वकर्मा, परियार, नेपाली, गन्धर्वहरूको उल्लेख्य बसोबास रहेको छ ।

शेयर गरौ

ताजा अपडेट