चितवन समाचार डटकम, ३ असार ।
कृषि तथा वन विज्ञान विश्वविद्यालय स्थापनकाे ११ बर्षमा प्रबेश गरेकाे छ ।
यस अवसरमा उपकुलपति प्रा. डा. शारदा थपलियाको विशेष उपस्थितिमा रामपुर स्थित कृषि संकायको परिसरमा दिपावली गरिएको छ । कार्यक्रममा बोल्नुहुँदै उपकुलपति थपलियाले कोबिडको सन्दर्भमा अन्यौल भएको शैक्षिक अवस्थालाई अवसरको रुपमा लिँदै अनलाईन लर्निंङ म्यानेजमेन्ट प्रणालीलाई व्यवस्थित गरेर लैजाने प्रतिवद्धता जनाउनुभयो । वार्षिकोत्सवको अवसर पारेर आजबाट विश्वविद्यालयका प्राध्यापक र कर्मचारीहरुलाई सो सम्बन्धि तालिम सुरु भइ सकेको जनाउँदै भोलिबाट अनलाइन पठन पाठन पनि क्रमशः सुरु हुदै जाने उहाँले जानकारी दिनुभयो । स्थापना दिवसको शुभकामना दिनुहुँदै विषम परिस्थितिको वाबजुद विश्वविद्यालयलाई थप सशक्त बनाएर लैजान प्राध्यापकहरुको अहम् भूमिका रहने उपकुलपति थपलियाले बताउनुभयो ।
कार्यक्रमका सहभागि कृषि संकायको डिन प्राध्यापक डा. कल्याणी मिश्र त्रिपाठिले कृषिमा अध्ययन, अनुसन्धान र प्रसारलाइ थप सशक्त बनाउँदै अध्ययन पश्चात विद्यार्थीहरु कृषि व्यवसायीकरणमा जानसक्ने वातावरण श्रृजना गर्न कृषि संकाय अघि बढ्ने बताउनुभयो ।
कार्यक्रममा प्राध्यापकहरु, विभिन्न निर्देशनालयका निर्देशकहरु, सहायक डिन प्रा डा विष्णुराज ओझा, विभागिय प्रमुखहरु, विश्वविद्यालयका कर्मचारी प्रमुख तथा प्रशासक बुद्धि ढुंगाना लगायत अन्य कर्मचारीहरुको विशेष उपस्थिति रहेको थियो । यसै बिच बिहान कृषि संकायले सरसफाइ कार्यक्रम आयोजना गरेको थियो भने पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकायले वृक्षा रोपण कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रमहरुमा प्राध्यापक तथा कर्मचारीहरुको उत्साहजनक उपस्थिति रहेको थियो । कोबिडका कारणले यस वर्ष वार्षिकोत्सव कार्यक्रम निकै सरल रुपमा मनाइएको जानकारी दिइएको छ । कार्यक्रममा सोही कारणले विद्यार्थीहरुको निकै कम उपस्थिति रह्यो ।
२०६७ सालमा स्थापना भएको यस विश्वविद्यालयमा करिब १०० जना विद्यावारिधि, ८०० स्नातकोत्कर र ३८७१ स्नातकका विद्यार्थीहरु कृषि, भेटेरिनरी, वन तथा मत्स्य विज्ञान विषयमा अध्ययनरत रहेका छन् । हाल कास्कि, कैलालि, उदयपुर, धनकुटा, सिन्धुलि, महोत्तरी, बाँदके र रोल्पा गरि ८ वटा जिल्लाहरुमा आंगिक कलेज स्थापना भइ पठन पाठन सुचारु भइ सकेको अवस्था छ भने निकट भविष्यमा थप अन्य जिल्लाहरुमा पनि आंगिक कलेज स्थापना हुने तयारीमा रहेको बताइन्छ ।


