चरणको अभावमा सौराहाका निजी हात्ती पाल्न समस्या

चितवन समाचार डटकम
३ असार । सौराहाका निजी हात्तीलाई चरणको अभाव भएको छ । सहकारी मार्फत सञ्चालन हुदै आएको यहाँका हात्तीलाई बाँधेर पाल्न खर्च नपुग्ने चरणको लागि ठाउँ नपाएपछि समस्या भएको हो ।
हात्ती सञ्चालक सस्थाले हात्तीलाई खुवाउन नसकेको भन्दै निकुञ्ज नजिकको जंगलमा चरणको लागि अनुमती दिन माग गरेका छन् । युनाइटेड हात्ती सञ्चालक सहकारी सस्था लिमिटेडले चितवनको सौराहामा वुधबार पत्रकार सम्मेलन गरी हात्तीलाई खुवाउने खर्च नभएकाले निकुञ्ज नजिकको जंगलमा चरणको लागि अनुमती दिन माग गरेका हुन् । सहकारीका अध्यक्ष ऋषिराम तिवारीले लकडाउनको कारण पर्यटक नआएकाले आम्दानी छैन पैसा नभएपछि हात्ती पाल्न नसकेको जानकारी दिनु भयो ।
हात्ती सञ्चालकको अनुरोधमा लकडाउन सुरु भएपछि दुइ महिना निकुञ्जको नजिक चरणको लागि दिएपनि अहिले रोक लगाएको बताउनु भयो । सहकारी मार्फत सौराहामा ७० वटा निजी हात्ती रहेको अध्यक्ष तिवारीले जानकारी दिनु भयो । ‘होटल बन्द छ, पर्यटक आउदैन हात्ती पाल्नको लागि पराल, दाना सबै किनेर दिन सकिएको छैन’ उहाले भन्नु भयो । राप्ती नदीको किनार निकुञ्जको छेउमा हात्ती चरणको लागि अनुमती दिनु पर्ने माग राख्नु भएको छ ।
सहकारीका अध्यक्ष तिवारीका अनुसार एउटा हात्ती पाल्नको लागि मासिक ७० देखि एक लाख खर्च हुने गर्दछ । दुइजना माउने, दुइ टयाक्टर टेलर पराल, दैनिक २५० लिटर पानी, दैनिक २० किलो धान, नुन, चनालगायतका खर्च गरी करिब एक लाख रुपियाँ लाग्ने सहकारीले जनाएको छ ।
पर्यटक नआएर होटल बन्द भएपछि हात्ती पाल्नको लागि समस्या भएको भनाइ छ । चितवनको सौराहाका होटल सञ्चालकहरुले सहकारी मार्फत हात्ती सफारीको लागि चलाउदै आएका छन् । निजी हात्तीहरु निकुञ्ज छेउको वफरजंग क्षेत्रमा वन्यजन्तु देखाउनको लागि पर्यटक घुमाउदै आएका थिए । लकडाउनले होटल बन्द भएपछि चैत महिनादेखिनै हात्तीलाई बाँधेर पालेका छन् ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले सधै निकुञ्ज क्षेत्रमा निजी हात्ती चरणको लागि दिन नमिल्ने बताउनु भयो । लकडाउन सुरु भएपछि मानवीयताको हिसाबले दुइमहिना राप्ती नजिकको क्षेत्रमा चरण गर्न दिएपनि अब दिन नसक्ने भएर रोकेको जानकारी दिनु भयो । व्यवसाय गर्नको लागि पालेको हात्तीलाई आफैले खर्च गरेर पाल्नु पर्ने प्रमुख संरक्षण अधिकृत रुपाखेतीको भनाइ छ । निकुञ्ज भित्र चरणको लागि लैजाने हो भने नियम परिर्वतन गरेर आउनु पर्ने बताउनु भयो ।
हात्ती सहकारीका अध्यक्ष तिवारीले वफरजंग क्षेत्रमा हात्ती प्रवेश गराए वापत वार्षिक एककरोड रुपियाँ राजश्व बुझाउदै आएको निजी हात्तीलाई समस्या पर्दा निकुञ्जले हेर्नु पर्ने बताउनु हुन्छ । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराइले हात्तीलाई बचाउन नसके चितवनको पर्यटकीय क्षेत्र विनास हुने बताउनु भयो । सौराहा आएर हात्ती हेर्न र चढ्न नपाउने हो भने यहाँ पर्यटक नआउने भएकाले संकटको बेला राज्यले हेर्नु पर्ने बताउनु भयो ।

शेयर गरौ

ताजा अपडेट