चितवन समाचार डटकम,
२ असार । भरतपुर कोरोना अस्थायी अस्पताल बन्द नभइ मर्मत र निर्मलीकरण गर्नको लागि विरामी अन्यत्र सारिएको अस्पतालले जनाएको छ । दिउसो बिज्ञप्ति जारी गरि बन्द भनिएको थियो, तर सांझ अर्को बिज्ञप्ति निकालेर मर्मत संभारको लागि सेवा स्थगन भनिएको छ ।
भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार विज्ञप्ति सच्याएर फेरि निकालिएको हो । सो विज्ञप्तिमा कोरोना अस्थायी अस्पताल मर्मत सम्भारका लागि हाललाई स्थगित भनिएको छ । विज्ञप्तिमा चितवनमा कोरोनाको उपचार, भरतपुर अस्पताल , कोरोना अस्थायी अस्पताल र भरतपुर कोभिड प्रयोगशालाले दिएको सेवाका बारेमा उल्लेख गरिएको छ ।
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर श्रीराम तिवारी द्वारा जारी पछिल्लो विज्ञप्तिमा कोरोना अस्पताल बन्द नभइ हाललाई सेवा स्थगन गरिएको जनाइएको हो ।
अध्यक्ष डाक्टर भोजराज अधिकारीले कोरोना अस्थायी अस्पतालमा मर्मत गर्नु पर्ने भएकाले त्यहाँ राखिएको विरामीलाई भरतपुर अस्पतालमा सारिएको जानकारी दिनु भयो । चितवन समाचार डटकमसंग कुराकानी गर्दै उहाले कोरोना अस्थायी अस्पतालमा मर्मत गर्नु पर्ने देखिएकोले छ संक्रमित विरामीलाई सुरक्षित स्थानमा राख्न यसो गरिएको बताउनुभयो । उहाँका अनुसार
त्यहाँबाट ल्याएका विरामीलाई भरतपुर अस्पतालमा राखिएको छ । स्वास्थ्य हेरचाह र खानपिनको व्यवस्था गरेका छौ । अब कोरोना अस्थायी अस्पतालमा निर्मलीकरण गरेपछि मर्मत गरिन्छ । मर्मत कार्य सम्पन्न भएपछि कोरोनाका विरामीलाई त्यही अस्थायी अस्पतालमा राख्ने छौ डा. अधिकारीले भन्नु भयो ।
कोरोना लागेका तर अवस्था सामान्य भएका विरामीलाई त्यही अस्थायी अस्पतालमा राखिने छ । जटिल समस्या आएमा मात्र लेवल १ अस्पतालमा राख्ने छौ यो मापदण्डले नै तोकेको छ डाक्टर अधिकारीले भन्नुभयो । अस्थायी अस्पतालको व्यवस्थापनमा आएको कमजोरीलाई समाधान गरेर सञ्चालनमा ल्याउने उहाले जानकारी दिनु भयो ।


