शिक्षा बिकासमा भरतपुर महानगरको प्राथमिकता : १८ करोड लगानी

चितवन, असार १ ।
भरतपुर महानगर प्रमुख रेनु दाहालले भरतपुर महानगरपालिकाले शिक्षालाई प्रमुख प्राथमिकता दिएको बताउनुभएको छ । उहाँले शिक्षामा प्रदेश, संघीय र महानगरको आन्तरिक स्रोतबाट ठूलो लगानी भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘गुणस्तरीय शिक्षा आजको आवश्यकता हो, शिक्षाको विकासकै कारण समग्र क्षेत्रको विकासमा योगदान पुग्छ, त्यसकारण पनि शिक्षालाई प्रमुख प्राथमिकता दिएका हौँ ।’

प्रमुख दाहालले प्रदेश, संघीय सरकारको समन्वय र सहयोगमा सिङ्गो भरतपुर महानगरको शिक्षाको विकासमा लागिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘विद्यालयका भवनमा लगानी गरेका छौँ, छाना मर्मतदेखि खानेपानी र शौचालयसम्म निर्माणमा महानगरले लगानी गरिरहेको छ, यो सबै गुणस्तरीय शिक्षाको लागि नै हो ।’ उहाँले भरतपुर महानगरको शिक्षाको गुणस्तर काठमाडौँ र पोखरा महानगरको बराबरी हैसियतमा लैजान आफू प्रतिबद्ध भएर लागिरहेको बताउनुभयो ।

महानगर प्रमुख दाहालले भन्नुभयो, ‘आजको शिक्षा गुणस्तरीय हुनुपर्छ, प्रतिस्पर्धी हुनुपर्छ, सबल र सक्षम किसिमको हुन जरुरी छ, त्यसकारण पनि शिक्षाको विकासमा सम्झौता हुँदैन ।’ उहाँले आगामी वर्ष शिक्षाको विकासमा अझ लगानी थप्ने र भरतपुर महानगरलाई शैक्षिक हब बनाउने प्रतिबद्धतासमेत गर्नुभएको छ ।

उहाँले भन्नुभयो, ‘आगामी वर्षको माघसम्म सम्पूर्ण काम सक्ने गरी भरतपुर महानगरको शैक्षिक गुणस्तर बढाउन जुन लगानी भएको छ, यो लगानी हालसम्मकै ठूलो लगानी हो, यस लगानीले यहाँको शिक्षाको विकासमा ठूलो परिवर्तन आउने अपेक्षा गरेकी छु ।’भरतपुर महानगरपालिकाको शिक्षा क्षेत्रको विकासमा झन्डै १८ करोड लगानी हुने भएको छ । यो लगानी चालु आर्थिक वर्ष र आगामी वर्ष २०७७\७८ मा खर्च गरिनेछ ।

शिक्षा क्षेत्रमा मात्र १८ करोड लगानी भरतपुर महानगरको शैक्षिक विकासमा खर्चेको हालसम्मको ठूलो लगानी हो । जिल्ला आयोजना कार्यान्वयन इकाइ भरतपुरबाट १७ वटा विद्यालयको भवन निर्माणको लागि मोटामोटी ११ करोड ७० लाख लगानी हुने भएको छ ।

यस्तै संघीय सरकारबाट भरतपुर महानगरको शिक्षामा एक करोड ३३ लाख लगानी हुने भएको छ । यसैगरी भरतपुर महानगरको आन्तरिक स्रोतबाट चार करोड ९५ लाख लगानी हुने भएको छ । संघीय सरकारबाट आएको बजेट र भरतपुर महानगरको आन्तरिक स्रोतबाट शिक्षामा लगाइएको बजेटको काम यही चालु आर्थिक वर्ष सक्नुपर्छ भने जिल्ला आयोजना कार्यान्वयन इकाइ भरतपुरबाट भएको लगानीको काम आगामी वर्ष २०७७÷७८ को माघसम्ममा सक्नुपर्छ ।

शेयर गरौ

ताजा अपडेट