दलित पत्रकार संघ चितवनको भर्चुअल अन्तरक्रिया : सबैकाे जाेड “जातीय विभेदकाे अन्त्य”

चितवन,१ असार ।
पश्चिम रूकुमको सोतीमा गत जेठ १० गते अन्तरजातीय प्रेम विवाहको सन्दर्भमा भएको अमानवीय क्रुर नरसंहारको विरोधमा यतिबेला सडक देखि सदन तातिरहेको छ । घटनाको विरोधमा, निष्पक्ष छानविनको मागसहित देश आन्दोलित भएको छ । दिनानुदिन दलित समुदाय माथि दमन बढी रहेको देख्न सकिन्छ ।

आईतबार राष्ट्रिय दलित पत्रकार संघ, चितवनको आयोजनामा भएको जातीय विभेद विरूद्ध साँसद, मानवअधिकारकर्मी र मिडियाकर्मीको भूमिका विषयक भर्चुअल अन्तरक्रिया कार्यक्रममा प्रतिनिधि सभा सदस्य आशा कुमारी विश्वकर्माले यो घटना दलित समुदाय भएकै कारण घटेकोले उक्त घटनाहरू दोहोरिन नदिनका लागी अब बन्ने ऐनहरूमा थप सजायको व्यवस्था गर्नु पर्ने धारणा राख्नु भयो । अन्तरजातीय प्रेम विवाहको कारण घटेको यो घटना एकदमै निन्दनीय रहेको उहाँले बताउनु भएको छ । यो घटनामा सक्ता पक्ष र प्रतिपक्ष भन्ने अवस्था नरहेकोले निष्पक्ष न्यायका लागी यो जातीय विभेदको मुद्दामा सबै दलित साँसदहरू एकठाउँमा रहेको जानकारी दिनुभयो ।

सोही क्रममा संविधान सभा सदस्य एवम् राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष विनोद पहाडीले
अन्तरजातीय प्रेम विवाहको निहुँमा सामुहिक र सुनियोजित ढंगबाट विभत्स हत्या भएको भन्दै पीडितलाई न्याय दिलाउने सवालमा कसैले पनि राजनीति नगर्न आग्रह गर्नुभयो । केन्द्रीय अध्यक्ष पहाडीले भेरीमा बगेको सपना सिंहदरबारलाई अनुभूति नरहेको अवस्थामा अन्य मुलधारका मिडियाकर्मीहरुलाई यस मुद्दामा शसक्त रूपमा आफ्नो कलम चलाउन अनुरोध गर्नुभयो । उक्त घटनाको विषयमा आफूले पनि स्थलगत अध्ययन गरेकोले यो घटनालाई तोडमोड गर्न स्थानीय राजनैतिक पार्टीले गलत भूमिका खेलिरहेको पहाडीले आरोप लगाउनु भयो ।

त्यस्तै संघका बागमती प्रदेश उपाध्यक्ष कमल कुमार विश्वकर्माले दलित समुदाय भएकै कारण यस्तो विभत्स नरसंहार हुनु दुखद् कुरा रहेको बताउँदै यस विषयमा शसक्त भएर लाग्न सबैलाई अनुरोध गर्नुभयो । न्यायका लागि पीडित छट्पटाई रहे पनि सरकारले न्याय दिन ढिलाई गरेको उहाँले अराप लगाउनु भयो । वास्तविक घटनास्थलमा नै नपुगी घटना जातीय कारण नभई भेरी नदीमा हाम फालेर युवाहरुको ज्यान गएको भन्ने पत्रकार किशोर नेपालको अभिव्यक्ति प्रति उहाँले गम्भीर आपत्ति व्यक्त गर्नुभयो ।

कार्यक्रममा वैचारिक व्यक्तित्व एवम् मानवअधिकारकर्मी प्रेम रिमालले रुकुम घटना कहाली लाग्दो नरसंहार रहेकोले दोषी लुकाउन नहुने र यदि त्यस्तो खेल भएमा सम्पुर्ण जनताहरु एक भएर सडक संघर्ष गर्नुपर्ने बताउनुभयो । उहाँले यस्तो घटना दोहोरिन नदिन राज्य कठोर भएर लाग्नुपर्ने बताउनुभयो । दलित समुदायले जातीय विभेद विरूद्ध आयोजना गरिरहेको संघर्षको कार्यक्रममा उहाँले आफ्नो ऐक्यबद्धता जनाउनु भयो ।

भर्चुअल कार्यक्रममा नेपाल पत्रकार महासंघका सचिव तीर्थ नेपालले जातकै आधारमा भएको यो क्रुर नरसंहारको खेद प्रकट गर्नुभयो । भेदभाव तथा छुवाछूत विरूद्धको यो संघर्षमा उहाँले आफ्नो ऐक्यबद्धता जनाउनु भयो ।

राष्ट्रिय दलित पत्रकार संघ चितवनका अध्यक्ष अमिर रामदामको अध्यक्षतामा भएको कार्यक्रममा संघका उपाध्यक्ष गोपाल विश्वकर्माले सहजीकरण गर्नु भएको थियो ।

शेयर गरौ

ताजा अपडेट