कुवेतमा अलपत्र परेका १५० जना नेपाली आज आउँदै

काठमाडौं, ३० जेठ । कुवेतमा अलपत्र परेका थप डेढ सय नेपाली आज (शुक्रबार) काठमाडौं आउँदै छन् ।

विदेशबाट आउने नागरिकको व्यवस्थापनमा सेना खटिइरहेका एक सैनिक अधिकृतले आज थप १५० नेपाली बोकेको विमान कुवेतबाट उडिसकेको छ । उनले स्वदेश फर्किएका नेपाली ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिने जानकारी दिए ।

बिहीबार ५३१ महिलालाई काठमाडौं ल्याएको थियो । सरकारले प्राथमिकताका आधारमा शुक्रबार फेरि १५० जनालाई ल्याउन लागेको हो ।

विमानस्थलबाट साझा यातायातको बसमा राखेर उनीहरुलाई उपत्यकामा तयार गरिएको होल्डिङ सेन्टरमा लगिने छ । बिहीबार ल्याइएका ५३१ जनामध्ये दुई जना गर्भवती छन् ।

उनीहरुमध्ये सम्बन्धित प्रदेशमा जान नसक्ने ४९ जनालाई छहारी होममा राखिएको छ भने १० जनालाई कोहिनुर होटलमा राखिएको छ । कोहिनुरको व्यवस्थापन स्वरोजगार महिला संघले गरेको हो ।

अन्य सबै महिला सम्बन्धित प्रदेशतर्फ पठाइएका छन् । त्यहाँ उनीहरुले १४ दिनसम्म क्वारेन्टिनमा बस्नु पर्नेछ । विभिन्न मुलुकमा अलपत्र परेका नेपालीलाई सरकारले २३ जेठबाट उद्दार गर्न शुरु गरेको छ ।

प्राथिमकताका आधारमा विदेशबाट नेपाली नागरिक ल्याउने गरी सरकारले तयारी गरेको थियो । सरकारले विदेशमा समस्यामा परेका नेपालीको उद्धारका लागि विमान भाडा, उडान तालिका समेत निर्धारण गरिसकेको छ ।

शेयर गरौ

ताजा अपडेट