२९ जेठ, कास्की ।
गण्डकी प्रदेशका छ जिल्लामा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु रोगका बिरामी भेटिएका छन् । कोरोना भाइरसको जोखिमका बीच डेङ्गु र स्क्रब टाइफसको सङ्क्रमणसमेत बढेको हो । हालसम्म ती जिल्लामा डेङ्गुका २७ बिरामी फेला परेका छन् भने म्याग्दीमा पाँच जनामा स्क्रब टाइफस देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । म्याग्दी र कास्कीमा सबैभन्दा बढी डेङ्गु सङ्क्रमित भेटिएका छन् । म्याग्दीमा १२ र कास्कीमा १० बिरामी फेला परेको बताइन्छ ।
गण्डकीका पर्वतमा दुई तथा बाग्लुङ, तनहुँ र नवलपुरमा एक–एक जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको बताइन्छ । निर्देशनालयअन्तर्गतको प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले सबैभन्दा बढी डेङ्गु सङ्क्रमण देखिएको म्याग्दीमा नियन्त्रण कार्ययोजनाअनुसार लामखुट्टेको सर्वे गरिएको बताउनुभयो । उहाँका अनुसार बेनी नगरपालिका र मङ्गला गाउँपालिका क्षेत्रमा ‘एडिस’ जातको लामखुट्टे भेटिएकाले सो क्षेत्रलाई डेङ्गु रोगको जोखिमयुक्त क्षेत्रमा राखी रोग नियन्त्रणका गतिविधि शुरु गरिएको छ ।


