काठमाडौं २८ जेठ ।
, नेपाल सरकार मन्त्रिपरिषदको बैठकले यसबर्षकाे माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेज गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस वर्ष नियमित परीक्षा नगरी कानूनी रुपमा मिलाएर विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा परीक्षा हुने निर्णय भएको उर्जा मन्त्री वर्षमान पुनले बताए ।
गत चैत ६ गते हुने कक्षा १० को एसइई परीक्षा कोरोना जोखिमका कारण गत चैत ५ गतेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णयपछि स्थगित भएको थियो ।
गत चैत ११ गतेदेखि जारी भएको बन्दाबन्दीका कारण सबै तहका शिक्षालयको पठनपाठन र परीक्षा स्थगित छन् । यसबीचमा केही शिक्षालयले आफ्नो तरिकाले दूर तथा खुल्ला शिक्षालगायत वैकल्पिक प्रणालीबाट पढाइ शुरु गरे पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सिकाइ सहजीकरण निर्देशिका जारी गरी आउँदो असार १ देखि सबै विद्यालयमा वैकल्पिक विधिबाट सिकाइ प्रक्रिया शुरु गर्न आग्रह गरेको छ ।


