रुकुम घटनाको निष्पक्ष छानविन हुन्छ, न्याय मर्न दिदैनौँ

अमिर रामदाम,
चितवन, २७ जेठ । नेपाली काँग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य मिनबहादुर विश्वकर्माले गत जेठ १० गते पश्चिम रूकुममा भएको सोती नरसंहारको घटनाको निष्पक्ष छानविन हुने र कुनैपनि हालतमा न्याय मर्न नदिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

सत्यको लागी अन्तिम समय सम्म संघर्ष गर्ने हो र यदि यो घटनालाई कसैको दबाबमा तोडमोड गर्न खोजिन्छ भने साझा रूपमा दलित आन्दोलनको घोषणा गरिने साँसद विश्वकर्माले बताएका छन् ।

मंगलबार क्रियाशिल दलित पत्रकार संघ नेपालको आयोजनामा भएको भर्चुअल संवाद कार्यक्रममा सो कुरा बताएका हुन् ।

सत्ता पक्षका साँसदहरूले सदनमा यस विषयमा कमै मात्रमा बोलेको अवस्थामा आफूले प्रतिपक्षबाट ध्यानाकर्षण गर्दै खबरदारी समेत गरिरहेको उनले बताएका छन् ।

उनले दलित समुदायको रूपान्तरणको लागी एकल वा प्रतिपक्षको प्रयासबाट मात्र पनि दलित आन्दोलन सम्भव नरहेकोले केन्द्रीकृत रूपमै संयुक्त संघर्षको लागी आफूले पहलकदमी गरिरहेको जानकारी दिएका छन् ।

रूकुम पश्चिम सोती हत्याकाण्डको निष्पक्ष छानविनको लागी आफूले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिनिधि सभा साँसद पार्वती कुमारी विशुंकेले बताएकी छिन् । साँसद विशुंके सत्ता पक्ष नेकपाकी साँसद हुन् ।

आफू पनि दलित समुदायबाट नै प्रतिनिधित्व गर्ने भएकाले सत्तापक्ष र प्रतिपक्ष केही पनि नहेरी न्यायकै लागी संघर्ष गर्ने उनले बताएकी छिन् ।

साँसद विशुंकेले हिजो मात्रै गठित भएको संसदीय विशेष समितिको पहिला कामलाई हेरेर मात्रै प्रश्न गर्न सबैमा अपिल गरेकी छिन् ।

आफू गफमा भन्दा काममा विश्वास राख्ने भएकोले कुनैपनि हालतमा पीडित पक्षले न्याय पाउने र पीडक पक्ष दण्डित हुने बताएकी छिन् ।

गत जेठ १० गते मल्ल थरकी युवतीसँग प्रेम सम्बन्धमा रहेका जाजरकोटका नवराज विकले युवतीलाई भगाउनका लागि रुकुम पश्चिम पुगेका थिए। तर युवती पक्षका मानिसहरूको आक्रमणबाट उनीसहित ६ जनाको ज्यान गएको थियो ।

घटनाको अनुसन्धानका लागि गृहमन्त्रालयले छानविन गर्न समिति समेत गठन गरेको छ भने सोमबार मात्रै नेकपा साँसद देवेन्द्र पौडेलको संयोजकत्वमा ९ सदस्यीय संसदीय विशेष समिति गठन गरेको छ ।

सोमबार गठित विशेष समितिको सदस्यहरूमा साँसदद्वय विश्वकर्मा र विशुंके पनि रहेका छन् । साँसदद्वयले हिजो मात्रै गठन भएको संसदीय विशेष समितिको विश्वास गर्न सबैमा अपिल गरेका छन् ।

शेयर गरौ

ताजा अपडेट