काठमाडौं, २५ जेठ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद भीमबहादुर रावलले सरकारले आगामी आर्थिक वर्षको बजेटमा नेपालको लिपुलेक, लिम्पियाधुरा, कालापानी क्षेत्रका लागि बजेट नल्याउनु विडम्बनापूर्ण रहेको बताएका छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकमा सरकारले ल्याएको बजेटमा खर्च कतौटीको प्रस्तावमाथि बोल्दै सांसद रावलले सोधे, ‘सीमा मिचिएको कुरा अनि गर्ने लिपुलेक, लिम्पियाधुरा, कालापानीलाई बजेट चाहीं खोई ?’
उनले मुखले जति नै सीमा सुरक्षाको कुरा गरे बजेटमा राष्ट्रिय सुरक्षालाई बलियो बनाउने कुरा नदेखिएको गुनासो गरेका छन् ।
बजेटमा जिल्ला प्रशासन कार्यालयका लागि नागरिकता र राहदानीका लागि २ करोड मात्र विनियोज गर्नु, नागरिकता ऐनबारे नीति तथा कार्याक्रममा केही नआउन विस्मयकारी विषय भएको रावलले बताएका छन् । उनले सरकारले ल्याएको बजेट समाजवाद उन्मुख नभएको, पिछडिएको क्षेत्रलाई अघि बढाउनेतर्फ पनि केन्द्रीत नभएको आरोप लगाए ।
उनले कोरोना संकटपछि बेरोजगारी बढ्ने र उनीहरुलाई कृषि क्षेत्रमा लगाउने ठोस कार्यक्रम नभएको, पर्याप्त बजेट नभएको भनेर कृषि मन्त्रालयले नै गुनासो गर्नु विडम्बनापूर्ण अवस्था रहेको बताएका छन् ।
उनले निजी विद्यालयले सरकारी विद्यालयको शैक्षिक सुधार गर्नुपर्ने विषय बजेटमा कसरी पर्यो भन्दै प्रश्न गरेका छन् । स्वयं शिक्षा मन्त्रालयले नै आपत्ति जनाउनुपर्ने विडम्बना कसरी भयो स्पष्ट पार्न माग गरे ।
उनले नेकपाको चुनावी घोषणापत्रको विरुद्ध विद्युतीय गाडीमा किन कर लगाइयो भन्दै अर्थमन्त्रीलाई प्रश्न समेत गरेका छन ।


