चितवन, १८ जेठ । कोराना संक्रमित भएर भरतपुर अस्पतालमा भर्ना भएकी एक गर्भवती महिलामा कोरोना परीक्षण नेगेटिभ आएपछि आइतबार डिस्चार्ज गरिएको छ ।
गत बुधबार हेटौँडामा कोरोना संक्रमण पोजेटिभ देखिएकी महिलाको दोस्रो पटकको पीसीआर परीक्षण गर्दा नेगेटिभ आएको थियो । शुक्रबार र शनिबार भएको परीक्षणमा नेगेटिभ आएपछि महिलाको श्रीमानलाई जिम्मा लगाएर आइतबार डिस्चार्ज गरेको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनु भयो ।
उहाका अनुसार अनुसार कोरोना पुष्टि भएको चार दिनको दिन उहाँमा संक्रमण निको भएको हो । कोरोना संक्रमणको आशङकामा गत वैशाख ९ गते हेटौँडामा गरिएको परीक्षणका आधारमा एक सातापछि पुनःस्वाब संकलन गरी दुईपटकसम्म परीक्षण गरिएको उहाँले जानकारी दिनुभयो । भरतपुर अस्पताल कोभिड– १९ क्लिनिकका संयोजक डा प्रमोद पौडेलले संक्रमित महिलामा रोग प्रतिरोधात्मक क्षमता राम्रो भएकाले पुष्टि भएको चार दिनमा नै निको भएको बताउनुभयो ।
यही जेठ १४ गते संक्रमण पुष्टि भएसँगै उहाँलाई भरतपुर अस्पताल पठाइएको थियो । उहाँ गर्भवती भएकाले भरतपुर अस्पताल पठाइएको हो । उहाँ र उहाँका श्रीमान् भरतपुुर महानगरपालिका वडा नं १२ मा बस्दै आएका थिए । उहाँहरु बस्ने घरका घरधनीको पनि स्वाब परीक्षणका क्रममा नेगेटिभ आइसकेको छ । आइतबार हेडटौडाबाट आएको एम्बुलेन्समा हालेर पठाइएको पौडेलले जानकारी दिनु भयो ।


