चितवन, ७ बैशाख । राष्ट्रिय मानवअधिकार आयोगको निर्देशन अनुसार कोभिड १९ का सन्दर्भमा चितवन जिल्ला स्तरीय मानवअधिकार अवस्था अनुगमन समिति गठन भएको छ ।
चितवन जिल्ला अदालत बार एशोसियसनका अध्यक्ष कमलराज पाठकको अध्यक्षतामा गठित समितिको सदस्यहरुमा पत्रकार महासंघ चितवनका सचिव तीर्थ नेपाल र गैसस महासंघ चितवनका अध्यक्ष सुरेशकुमार अधिकारी सदस्य हुनुहुन्छ । अध्यक्ष पाठकले आज एक विज्ञप्ति जारी गरि समितिले कोभिड १९ का सन्दर्भमा जिल्लामा सरकारबाट भैरहेका कार्यहरु, स्वास्थ्य उपचारको ब्यवस्था, आमउपभोक्ताको अधिकार , अभिव्यक्ति स्वतन्त्रता, न्याय प्रशासनमा पहुँच, नागरिकको कर्तव्य लगायतका विषयमा अनुगमन गर्ने जनाउनु भएको छ ।
कोभिड १९ बाट प्रभावित र अन्यको मानवअधिकारको अवस्थाको अनुगमन गरि स्थानीयस्तरमा देखिएका समस्या समाधानमा सहजीकरण गरि आयोगमा सुचना र तथ्य प्रेशित गर्ने समितिको कार्यबिधि रहेको अध्यक्ष पाठकले जानकारी दिनुभयो । विज्ञप्तिमा वर्तमान जटिल परिस्थितिमा मानवअधिकारका न्युनतम तथा आधारभुत मुल्यमान्यता कायम राखिराख्न सबैपक्षबाट सहयोगी भूमिका रहनेमा विश्वास समेत ब्यक्त गरिएको छ ।


