कोभिड—१९ र मानसिक समस्या

" निरन्तरको तनाव र चिन्ताले मानिसलाई अर्को व्यथा निम्त्याउछ, विपत्तीलाई धर्य भएर समाधान गर्न सक्नेले रोगलाई जित्छ"

अनुप अधिकारी ।
वर्तमान अवस्थामा विश्व नै कोभिड –१९ अर्थात् नोबेल कोरोना भाइरसको कारणले आक्रान्त भएको छ । चीनको वुहान राज्यमा गत डिसेम्बर महिनाको अन्तिम साताबाट देखिएको कोरोना भाइरस हाल विश्वका ठुला अर्थतन्त्र भएका देशलगायत निम्न तथा न्यून आय भएका देश गरी २०० भन्दा बढी देशहरुमा संक्रमण फैलिएको छ । आजसम्म विश्वमा २० लाखको हाराहारीमा संक्रमण र एक लाखभन्दा बढी मानिसहरुको मृत्यु भइसकेको र दिनप्रतिदिन यसको संक्रमण बुलेट ट्रेनको स्पिडमा बढ्दै गएको अवस्था छ ।
आजको दिनमा विगत २४ घण्टामा मात्रै संक्रमण फैलिएको अवस्थालाई हेर्ने हो भने अमेरिकामा २७९० भन्दा बढी नयाँ संक्रमित देखिएको छ । त्यसैगरी स्पेनमा ३००० भन्दा बढी, इटालीमा ३००० भन्दा बढी तथा जर्मनी, फ्रान्स लगायत ठुला देशहरुमा पनि त्यत्ति नै रुपमा नयाँ संक्रमितहरु देखिएका छन् ।
अमेरिकामा जम्मा संक्रमितको सख्या ६ लाख भन्दा धेरै भएको छ भने मृत्यु हुने २६ हजार पुगेको छ । यो लेखिरहदा मर्ने र संक्रमित हुनेको सख्या वृद्धि भइराखेको मैले अनुमान गरेको छु ।


यस्ता तथ्याकंहरुले के दखाउँछ भने यसको उन्मुलन छिटो हुने देखिदैन । आज विश्व स्वास्थ्य संगठन लगायत विभिन्न सरोकारवाला निकायले सबै देशहरुमा यसबाट बच्ने उपायहरुको बारेमा विभिन्न जनचेतनामुलक कार्यक्रमहरु गर्ने र यसको रोकथामको लागि लक डाउन गरी सम्पूर्ण मानव जाति घरमै बस्ने (स्टेहोम) को अवधारणा ल्याएका छन् । विश्वका अधिकांश देशहरुले आफ्नो देश बन्दाबन्दी (लकडाउन) गर्ने र आवश्यक परेको ठाउँमा शील गर्ने गरेका छन् । यसले केही हदसम्म भाइरस फैलिने गति कम भएको देखिन्छ तथापी यसलाई अहिले विश्वमा भएको स्वास्थ्य संयन्त्र, उपाय तथा विधिहरु दिनानुदिन असफल भएको छ भन्दा फरक नपर्ला । अहिले विश्व का ठुला पत्रपत्रिकाहरु तथा मिडियाहरुले कोरोना भाइरसलाई मानसिक स्वास्थ्यसंग जोडेर हेर्ने गरेको पाइन्छ ।


हामी कोरोना भाइरसबाट बच्नको लागि आत्मबल बलियो बनाउनुपर्छ, डराउनु हुँदैन, चिन्तित हुनुहुँदैन, सकारात्मक सोचको विकास गर्नुपर्दछ, भक्ति, भजनलगायत मानसिक रुपमा स्वस्थ हुने क्रियाकलाप गर्नुपर्दछ जसले कोरोना भाइरससंग लड्नको लागि र आफ्नो जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्ने कुरा आज संसारभरी नै व्याप्त भइसकेको छ । यसले के बुझाउँछ भने ʺThere is no health without mental health ʺ जबसम्म हामी मानसिक रुपमा स्वस्थ हुन सक्दैनौं तबसम्म हामी कुनै पनि किसिमले स्वस्थ रहन सक्दैनौं ।
एकातिर कोरोना भाइरसको कारण मानिसहरुमा मनोसामाजिक समस्याहरु बढ्ने सम्भावना प्रवल रुपमा देखिएको छ भने लकडाउनको कारणले विश्वको अर्थतन्त्र नै धरासायी अवस्थामा पुगेको छ । धेरैजसो उद्योग धन्दाहरु बन्द भएका छन्, रोजगारी गुमेको छ, दीर्घकालिन रोगका रोगीहरुले उपचार प्राप्त गर्न सकेका छैनन् । दैनिक ज्यालादारी गरेर गुजारा चलाउनेहरुको रोजीरोटी नै गुमेको छ । कृषि उत्पादन अस्तव्यस्त छ जसले गर्दा ठुलो खाद्यान्न संकट पर्ने निश्चित छ ।
यी सबै कुराहरुबाट नेपाल पनि अछुतो छैन । अति नै विपन्न राष्ट्र र कमजोर स्वास्थ्य संयन्त्र भएको हाम्रो देश नेपालमा हालसम्म १२ जनामा कोरोना पोजेटिभ देखिएको र विगत २१ दिनदेखिको लकडाउनले सम्पूर्ण कुराहरु धरासायी अवस्थामा रहेको छ । यसको प्रत्यक्ष असर फ्रन्ट लाइनमा काम गर्ने स्वास्थ्यकर्मीहरु र प्रहरी तथा सुरक्षाकर्मीहरु जोखिम अवस्थामा रहेका छन् । पर्याप्त स्वास्थ्य सामग्रीहरु नहुनु र कोरोनाको संक्रमण बढ्दै जानुले स्वास्थ्यकर्मी तथा प्रहरीहरुलाई मनोसामाजिक तथा मानसिक समस्या हुने सम्भावना बढेको छ । एकातिर संक्रमित व्यक्तिहरुबाट भाइरस सर्ने चिन्ता छ भने आफ्नो परिवारको सदस्यलाई भेट्न नपाउने र भेटी हाल्यो भने पनि भोलि परिवारलाई नै संक्रमण हुने ठुलो डर र चिन्ता रहेको छ ।

यसका साथसाथै लकडाउनका कारण घरमै बसेका सर्वसाधारणलाईपनि भोलि के हुने हो, यो कहिलेसम्म रहने हो, मेरो रोजगारी के हुने हो , खेतीबाली कसरी थन्काउने र यसको बजार के हुने हो, बैंकको ऋण कसरी तिर्ने हो र यो भाइरसबाट कहिले उन्मुक्ति पाइन्छ भन्ने कुराहरुले सम्पूर्ण मानिसहरुलाई एक किसिमको डर, त्रास, चिन्ता, अन्यौलता तथा आत्मविश्वास घटेको पाइन्छ । जसले गर्दा भोलि ठुलो जमातमा मनोसामाजिक तथा मानसिक समस्या बढ्ने सम्भावना प्रवल रुपमा देखिएको छ ।


त्यसैले मानसिक स्वास्थ्यकर्मी, मनोचिकित्सकहरु, मनोविदहरु, मनोसामाजिक मनोविमर्शकर्ताहरुलगायत मानसिक स्वास्थ्यको क्षेत्रमा सहयोग पु¥याउने व्यक्तिहरुलाई पनि राज्यको कुनै संयन्त्र बनाएर कोरोना भाइरसबाट प्रभावित व्यक्ति, स्वास्थ्यकर्मी, आम नागरिकहरुलाई काउन्सिलिङ, थेरापीहरुको अवधारणाबाट सहयोग गनुपर्ने अत्यन्त जरुरी देखिन्छ । त्यसैगरी नेपालमा क्वारेन्टाइनमा बसेका मानिसहरुलाई पनि मानसिक स्वास्थ्यको विषयमा र यसबाट भविष्यमा हुने सम्भावित लक्षणहरुको बारेमा जानकारी गराई यसबाट आउने मनोसामाजिक समस्याहरु आफुले चिन्ने र त्यसबाट बच्नको लागि विशेष उपायहरु अवलम्बन गर्न सकिने कुराको सचेतना पनि संग संगै गर्नुपर्ने देखिन्छ । जसको सम्बोधन देशभरीमा मनोसामाजिक तथा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने संघ संस्थाहरुसंग समन्वय गरी राज्यले आवश्यक तयारीका साथ परिचालन गर्नुपर्ने देखिन्छ ।

लेखक अधिकारी प्राईम नेपाल, चितवनका अध्यक्ष तथा मानसिक स्वास्थ्यको क्षेत्रमा लामो समयदेखि अध्ययन अनुसन्धान गर्दै आउनु भएको छ ।

शेयर गरौ

ताजा अपडेट