नेकपा चितवनको शुभकामना सन्देश : कठिन अवस्थालाई नेपालीले जीत्न सक्नेछन्

चितवन १ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले नयाँ वर्ष २०७७ले नेपालीहरुमा महामारी रोगसंग लड्न सक्ने शक्ति प्रदान होस भन्दै शुभकामना दिएको छ ।
नेकपा चितवनका अध्यक्ष यमवहादुर परियार र सचिव कृष्णभक्त पोखरेलले द्वारा जारी शुभकामना सन्देशमा कठिन परिस्थितिमा नयाँ वर्ष मनाउनु परेको अवस्थामा रोगसंग लड्न सक्ने शक्ति प्राप्त हुने भन्दै कामना गरिएको छ । सन्देशमा भनिएको छ नयाँ वर्ष २०७७ लाई हामी सबै नेपालीले उल्लास र उमंगसहित मनाउनुपर्ने बेलामा हामी निकै कठिन परिस्थितिमा पर्न सक्ने सबै चुनौतीहरूलाई सामना गर्ने संकल्पसहित नयाँ वर्षलाई स्वागत गर्नुपर्ने बाध्यात्मक अवस्थामा पुगेका छौँ ।
केही महिनादेखि सुरु भएको कोरना भाइरस (कोभिड–१९) विश्वव्यापी महामारीको रूपमा फैलिएको छ । कोरनाविरुद्धको लडाई मानवजातीले जित्नै पर्दछ र यो लडाई जित्न सबैको एकताबद्ध प्रयास, आत्मविश्वास र उच्च मनोबलको खाँचो पर्दछ । कोरना विरुद्धको लडाईमा फ्रन्टलाइनमा बसेर लड्ने चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षा निकायको उच्च मनोबल बनाउन सबै नागरिकहरूमा आह्वान गर्दछौँ विज्ञप्तिमा भनिएको छ ।
राहत वितरण लगायत नागरिकहरूलाई पर्ने हरेक अफ्टेराहरूमा स्वयम्सेवी भई जनताको सेवामा जुट्न सम्पूर्ण पार्टी सदस्य र शुभेच्छुकहरूमा अनुरोध गर्दछौँ । ज्याला मजदुरी गरी खाने वर्गमा खाद्यान्नको अभाव हुन सक्छ, औषधीलगायत अत्यावश्यक सामग्रीहरूको अभाव हुन सक्दछ, तसर्थ नेकपा चितवन राज्यको तर्फबाट न्युनतम वस्तुहरूको अभाव हुन नदिन र न्यायोचित वितरण गर्नेतर्फ राज्यको गंभिरतापूर्वक ध्यानाकर्षण गरेको छ ।

शेयर गरौ

ताजा अपडेट