काठमाडौं १६, चैत । नेपालमा देखिएको कोरोना भाइरस महामारीका विषयमा छलफल गर्न आज (आइतबार) मन्त्रिपरिषद वैठक बस्दैछ ।
आजको मन्त्रिपरिषद वैठकले नेपालमा देखिएको कोरोना भाइरसलाई थप फैलिन नदिने विषयमा महत्वपूर्ण निर्णय हुने जनाइएको छ ।
नियमित बैठकअन्तर्गत आज साँझ ४ बजे बालुवाटारस्थित प्रधानमन्त्रीको निवासमा मन्त्रिपरिषद् बैठक बस्न लागेको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराएका छन् ।
‘अहिले मुलुकमा कोरोना भाइरस महामारीले पारेको प्रभाव र त्यसबाट जोगिने उपायहरुका विषयमा मन्त्रिपरिषद्मा छलफल हुनेछ,’ प्रेस सल्लाहकार थापाले भने, ‘कोरोना भाइरसको संक्रमण थप फैलिन नदिन लकडाउनलगायत विषयमा पनि छलफल गर्ने तयारी छ ।’
आजको बैठकले लकडाउनलाई थप कडा बनाउँदै लम्ब्याउने तयारी रहेको समेत स्रोतले जानकारी दिएको छ । तर प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापा भने लकडाउनबारे निर्णय गर्ने अधिकार कोरोना रोकथाम तथा नियन्त्रण उच्च समन्वय समितिलाई नै भएको बताएका छन् । आजको मन्त्रिपरिषद वैठकले लकडाउनपछिको अवस्था र कोरोना रोकथामका लागि अहिलेसम्म भएका कामहरुको समीक्षा समेत गर्ने जनाइएको छ ।
कोरोना संक्रमण फैलिन नदिन सरकारले चैत ११ देखि १८ गते बिहान ६ बजेसम्मका लागि पूरै देशलाई लकडाउन ९बन्द० गरिरहेको छ ।
तर नेपालमा पनि एकपछि अर्को कोरोना संक्रमित व्यक्ति थपिइरहेकाले थप लकडाउनको अवधि थप गर्नुपर्ने देखिएको छ । शनिबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या पाँच पुगिसकेको छ । यसअघि चैत ९ गते मन्त्रिपरिषद बैठक बसेको थियो ।
प्रधानमन्त्री ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्नेताका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठन गरिएको कोरोना रोकथाम तथा नियन्त्रण उच्च समन्वय समितिले लकडाउनलगायत विषयमा निर्णय गर्ने गरेको छ ।


