चितवन, १३ चैत । भरतपुर अस्पतालमा पर्सनल प्रोटेक्स इक्युपमेन्ट (पीपीइ)को अभाव भएको भन्दै जनस्वास्थ्य मन्त्रालयमा माग गरिएको छ ।
भरतपुर अस्पतालमा विहीबार बसेको वैठकले पीपीइको अत्यन्त जरुरी भएकाले मन्त्रालयसंग माग गरेको भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट श्रीराम तिवारीले जानकारी दिनु भयो । संक्रमितहरुको लागि उपचार गर्न आइसीयुको व्यवस्था गरी त्यहा चाहिने भेन्टिलेटर आवश्यक पर्ने भएकाले सामग्री सहित अन्य उपकरणहरु माग गरिएको छ । त्यस्तै गरी अहिले सञ्चालनमा रहेको न्युरो वार्डमा १० शैयाँको आइसीयु राख्ने निर्णय गरेको छ ।
अस्पतालले अहिले सञ्चालन गर्दै आएको आइसोलेसनको क्षमता वृद्धि गरी क्याविनलाई आइसोलेसन बनाउने भएको छ । अब क्याविन सहित ३० शैयाको आइसोलेसन निर्माण गरिएको छ ।
संक्रमित रोगीलाई उपचार गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीको उच्च मनोवल कायम गराउन राज्यले जीवन विमा गरिदिनु पर्ने माग समेत गरेको छ । जोखिम मोलेर उपचार गराइराखेका स्वास्थ्यकर्मीको परिवारको जीवन रक्षाको लागि पनि विमा आवश्यक भएको भन्दै सो माग गरेको भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट तिवारीले बताउनु भयो । नोवेल कोरोना संक्रमण रोगथाम तथा व्यवस्थापनका लागि पूर्वाधार तयारी उपसमितिका संयोजक डाक्टर प्रकाश खतिवाडको अध्यक्षतामा वसेको वैठकले माग गरेको हो ।


