कोरोना संक्रमणको कारण नारायणगढ बजार सुनसान

सुदेश खनाल

चितवन ७ चैत । कोरोना संक्रमणको कारण चितवनको मुख्य नारायणगढ बजार सुनसान हुन थालेको छ ।
प्रशासन र महानगरपालिकाले सार्वजनिक भिडभाडमा नजान भनी सूचना प्रकाशन गरेपछि त्यसको प्रत्यक्ष प्रभाव बजारमा परेको हो । बजारमा मानिसको चहलपहल नभएपछि व्यापार ह्वात्तै घटेको व्यवसायीले बताएका छन् । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले भन्नु भयो ‘रोगको हल्लाले गर्दा जिल्लाको व्यापार ठप्पै भएको छ, यस्तै अवस्था रहेमा पलायन हुने अवस्था आउछ ।’ बजारमा मानिसको चहलपहल छैन, आउन छाडेपछि कसरी व्यापार हुन्छ उहाले भन्नु भयो अन्य समयको तुलनामा अहिले ८० प्रतिशत व्यापार घटेको छ ।
फेन्सी व्यवसायी संघ नारायणगढका अध्यक्ष खिमलाल अर्यालले भन्नु भयो ‘नेपाल बन्द जस्तै भएको छ, सुनसानमा कसरी व्यापार हुन्छ ।’ दैनिक २० हजार भन्दा माथि व्यापार हुने पसलमा अहिले दुई हजार हुन पनि मुस्किल भएको छ उहाले भन्नु भयो ‘नयाँ शैक्षिक सत्र सुरु हुने वेला हो, राम्रो व्यापार हुने थियो तर भएन ।’ विद्यालय बन्द भएपछि बजार आउने ग्राहक रोकिएको छ उहाले भन्नु भयो ।
सधैभरी भीड हुने जुनहल रोड नारायणगढमा अहिले पैदल हिड्ने व्यक्ति भेटिन पनि मुस्किल हुन थालेको छ । चितवन, नवलपरासी, तनहुँ, मकवानपुर, गोरखा लगायत जिल्लाको ठुलो देखि सानो सामान खरिद गर्नको नारायणगढ बजार आउने गर्दछन् । मुख्यगरी नारायणगढको मिलन रोड, जुनहल रोड, गंगोत्री मार्ग, पुतली बजार मेन रोड लगायतको स्थानमा ग्राहकको भिड लाग्ने गर्दछ ।
सामान्य समयमा यहाँ मोटरसाइकल पार्किङ, सर्वसाधारणको भिडले जाम हुने गरेको थियो । तर अहिले ग्राहक आउलान र व्यापार होला भन्दै कुरेका छौ गंगोत्री मार्गका शुभ सप्लायर्सका सञ्चालक गणेश सापकोटाले भन्नु भयो । ‘एक महिनादेखि पातलो हुन थालेको अहिले त ठप्पै भयो’ उहाले भन्नु भयो ‘चितवन बाहिरबाट पनि खरिद गर्न आउने गरेका थिए, अहिले त त्यो पनि छैन पसल बन्द गरेर बसे भयो ।’
उद्योग वाणिज्य संघ चितवनका पूर्व अध्यक्ष सहनलाल प्रधानले भन्नु भयो ‘रोगको कारण कपडा, फेन्सी मात्र होइन अन्य क्षेत्रमा पनि चौपट पारेको छ ।’ विवाह उत्सब पार्टी, सभा सम्मेलन, भोज भतेर बन्द भएपछि सबै क्षेत्रमा प्रभाव परेको छ । अहिले जिल्लाको व्यापार ६० प्रतिशत भन्दा तल गिरेको छ उहाले भन्नु भयो ‘यस्तो अवस्था अन्य कुनै बेलामा भएको थिएन हामी चिन्तित छौ ।’
नारायणगढको सुन व्यवसायी अमिर रामदामका अनुसार केही महिनादेखि सुनमा भएको मुल्य वृद्धिदेखि व्यापार खस्केको अहिले अझ धेरै प्रभावित भएको छ । सुन बिक्री गर्न आउनेहरुको छन् खरिद गर्न आएका छैनन् । सटर भाडा तिरेर बस्न बाध्य भएका छौ उहाले भन्नु भयो ‘अब केही महिना हेर्ने भन्दा बाहेक अरु उपाय छैन ।’

शेयर गरौ

ताजा अपडेट