जलेश्वर, १ चैत्र । महोत्तरी जिल्लाको मटिहानीमा रहेको याज्ञवल्कय लक्ष्मी नारायण विद्यापिठको नवनिर्मित शिक्षण भवनको उदघाटन गर्ने कार्यक्रम शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले स्थगन गर्नुभएको छ । कार्यक्रममा उपस्थित भए पनि उहाँले देशको वर्तमान परिस्थितिको कारणले उदघाटन स्थगन गर्नुभएको हो ।
कोरोना भाइरसको कारणले वर्तमान समयमा कुनै पनि सभा, सम्मेलन र कार्यक्रम नगर्ने सरकारको नीतिको कारणले उहाँले उदघाटन नगरेको बताउनुहुदै उपयुक्त समयमा आफैंले खबर गर्ने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हामी अहिलेसम्म सुरक्षित छौं । एउटा पनि पोजेटिभ घटनाहरु देखिएको छैन । तर हामी जोखिममा छौं र जोखिम बढेर पनि गएको छ ।’
भारततिर पनि यो समस्या आइसकेको परिस्थितिमा यसैमा आधारित भएर आपूmलाई नयाँ ढंगले तयार गर्नुपर्ने भएको बताउनुहुँदै उहाँले आज कार्यक्रम स्थगित भए पनि अर्को कुनै समयमा कार्यक्रम अगाडि बढाउने बताउनुभयो ।
उहाँले साना साना भेटधाट र छलफल गदै अगाडि बढनुपर्नेमा जोड दिनुहुँदै उहाँले सरकारले कोरोना भाइरसलाई प्रवेश गर्न विभिन्न रणनीति बनाएर काम गरिरहेको बताउनुभयो ।
कोरोना भाइरस भित्र प्रवेश नगरोस भन्ने हेतुले हवाईमार्गबाट आउनेहरुलाई विमानस्थलमा रोक्ने कामहरु व्यवस्थित ढंगबाट भइरहेको बताउनुभयो । त्यसैगरी, स्थलमार्गबाट आउने सन्दर्भमा हाम्रा १ सय २९ नाका मध्ये ४१ वटा नाकाहरुमा हेल्प डेस्क राखेको बताउनुभयो ।


