कतारले गर्‍यो नेपालसहित १४ देशका नागरिकलाई प्रवेशमा रोक

काठमाडौं २६ फागुन । कतारले कोरोना भाइरस (कोभिड–१९) लाई मध्यनजर गर्दै नेपालसहित १४ देशका नागरिकलाई प्रवेशमा रोक लगाएको छ ।

कोरोना भाइरसकाे संक्रमण नफैलियाेस भन्‍ने उद्देश्यले विदेशी नागरिकलाई  प्रवेशमा राेक लगाइएकाे कतारको द गभरमेन्ट कम्युनिकेसन अफिस (जीसिओ)ले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

जसअनुसार नेपालसहित चीन, भारत, बंगलादेश, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया, इजिप्ट, इरान, इराक, लेवनान र थाइल्याण्डका नागरिक कतार जान पाइने छैन ।

कामदार र पर्यटक लगायत सबै  विदेशी नागरिककाे हकमा साे निर्णय लागू हुने भन्दै विज्ञप्तिमा लेखिएकाे छ-‘याे निर्णय अस्थायी हाे ।’

सुरुमा चीनको वुहानमा देखिएको कोरोना भाइरस संक्रमण अहिले विश्वका एक सय बढी देशमा देखिएको छ ।

कतारमा पनि एक दर्जन बढी मानिसमा कोरोना संक्रमण  देखिएको छ ।  तीमध्ये तीन जना आप्रवासी कामदार रहेको बताइएकाे छ तर कुन देशका हुन‍् भन्‍ने खुलाइएकाे छैन । कतार एयरवेजले इटालीका लागि सबै उडान बन्द गरिसकेको छ ।

कोरोना महामारी विश्वव्यापी बनेपछि विभिन्न देशले विदेशी नागरिकलाई आफ्नो मुलुक प्रवेशमा रोक लगाएका छन् । चीनमा कोरोना प्रभाव कम हुँदै गएपनि विश्वका अन्य देशमा भने यो तीव्र गतिमा फैलिरहेको छ ।

इरानी वायुसेवा ‘इरान एअर’ले अर्को सूचना नहुँदासम्म यूरोपका लागि उडान नगर्ने आइतबार घोषणा गरिसकेको छ ।

शेयर गरौ

ताजा अपडेट