एजेन्सी । एसियाको सेयर बजार खुलेसँगै भारी गिरावट आएको छ । यसको कारण कच्चा तेलको मूल्यमा सोमबार आएको भारी गिरावट र कमजोर आर्थिक डाटालाई मानिँदै छ ।
जापानको निक्केई सूचकांकमा पाँच प्रतिशतसम्म गिरावट भएको छ भने अस्ट्रेलियाको एएसएक्स ७.३ प्रतिशतले झरेको छ । यो वर्ष २००८ पछि यी बजारहरुमा सबैभन्दा बढी गिरावट आएको छ ।
त्यस्तै भारतीय सूचकांक सेन्सेक्स पनि सोमबारको सुरुवाती घण्टाहरुमा १६ सय अंकसम्म झरेको छ । जबकि निफ्टीमा चार सय ५३ अंकको गिरावट देखिएको छ ।
तेल उत्पादक देशहरुको समूह ओपेक र रूसबीच कच्चा तेलको विषयमा प्रतिद्वन्द्विता सुरू हुने डरले बजारहरुलाई हल्लाएको छ । उता चीनको निर्यातमा आएको स्थिरता र जापानी अर्थव्यवस्था खुम्चिँदा एसियाली लगानीकर्ताहरुमा असर परेको छ ।
सोमबार कच्चा तेलको मूल्यमा ३० प्रतिशतसम्म गिरावट देखिएको छ । यो १९९१ मा खाडी युद्धपछि कच्चा तेलको मूल्यमा आएको सबैभन्दा बढी गिरावट हो । यसको असर ऊर्जा कम्पनीहरुको सेयर मूल्यमा पनि परेको छ ।
अस्ट्रेलियामा पञ्जीकृत तेल कम्पनी आयल सर्चको सेयरमा ३१ प्रतिशतसम्म गिरावट आएको छ । जबकी ऊर्जा फर्म सान्तोसको सेयर ३७ प्रतिशत आरालो लागेको छ । चीनमा फेला परेको कोरोना भाइरस विश्वभरी फैलिन थालेपछि तेलको मागमा कमी आएको छ ।
कोरोना भाइरसको सबैभन्दा बढी असर ट्राभल कम्पनीहरुमा परेको छ । दुबईको स्टक एक्सचेन्जमा सोमबार ६.५ प्रतिशतसम्म गिरावट आएको छ । बीबीसीबाट


