काठमाडौं, २० फागुन । चीनको बुहानबाट शुरु भएको कोरोना (कोभिड–१९) को संक्रमणले विश्वका तीन हजार बढी मानिसको ज्यान लिइसकेको छ । हालसम्म कोरोना भाइरसको संक्रमण विश्वका ६६ देशमा फैलिइसकेको छ ।
कोरोना भाइरसका कारण इरानमा मृत्यु हुनेको संख्या ६६ पुगेको छ । मृत्तकको संख्या बढिरहेको छ । चीनमा कोरोनाको संक्रमण केहि घटे पनि अन्य देशमा भने तीब्र रुपमा फैलिन थालेको छ ।
चीनमा पछिल्लो समय नयाँ संक्रमितहरुको संख्या घट्दै गए पनि मध्यपूर्वका इरान, साउदी अरेबिया, जोर्डन, ट्युनिसियालगायत युरोपियन देशहरुमा उक्त संक्रमण फैलिन थालेको अधिकारीहरुले बताएका छन् ।
ती देशहरुमा कोरोनाका नयाँ संक्रमितहरुको संख्या दिनहुँ बढ्दै गएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
अहिलेसम्मको तथ्याङ्क अनुसार चीनपछि इरानमा सबैभन्दा बढीको मृत्यु भएको छ । इरानमा हालसम्म ६६ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ ।
भाइरसको संक्रमण बढ्दै गएपछि अधिकांश देशहरुले पर्यटकको आवागमनमा कडाइ गर्नुका साथै विमानस्थलहरुमा चेकजाँचका लागि हेल्थ डेस्कहरु स्थापना गरेका छन् ।
त्यसैगरी अत्यावश्यक बाहेक अन्य काममा विदेश नजान नागरिकहरुलाई ती देशले आग्रह समेत गरेको बताइएको छ ।
कोरोनाको क्षति अज्ञात : डब्ल्युएचओ
यसैबीच विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले भाइरसको नियन्त्रणका प्रयासहरु जारी रहेकाले सावधानी अपनाउन आग्रह गरेको छ ।
डब्लुएचओले कोरोना नियन्त्रणका लागि चुनौती रहे पनि भाइरसको संक्रमण फैलन नदिन विशेष योजनासहित सावधानी अपनाउन आग्रह गरेको छ । डब्ल्युएचओले अहिले कोरोना भाइरसको क्षति अज्ञात अवस्थामा रहेको बताएको छ ।
डब्ल्युएचओले देशैपिच्छे कोरोनाको संक्रमण दर फरक रहेको र अहिलेसम्म यसलाई रोक्ने औषधि विकास भइनसकेको जनाउँदै देश अनुसार रोकथामका उपाय अवलम्बन गर्न विश्वलाई आग्रह गरेको छ ।
उसले कोरोनाको संक्रमण रोक्न अनुसन्धानमा रहेका कुन उपचार पद्दति प्रभावकारी हुन्छ भन्ने अन्योल रहेकाले कोरोना संक्रमणको मानवीय र आर्थिक क्षति आंकलन गर्न कठिन भइरहेको समेत बताएको छ ।


