काठमाडौं, १९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली दोस्रोपल्ट मृगौला प्रत्यारोपणका लागि आज (सोमबार) त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना हुँदैछन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पतालकै युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जन प्रा.डा. प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले गर्ने भएको छ । युरोलोजी डिपार्टमेण्टका नियमित प्रत्यारोपण गर्ने शिक्षण अस्पतालकै अन्य चार सर्जन पनि टोलीमा सहभागी हुने जनाइएको छ । बुधबार हुने प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली आज अस्पताल भर्ना हुँदैछन् ।
प्रत्यारोपणमा विदेशी डाक्टर संलग्नताको विषयको टुंगो निर्णय दिउँसो ३ बजे बस्ने बैठकले लगाउने डाक्टर ज्ञवालीले जानकारी दिएका छन् । उनले भने, ‘हामीले विदेशी डाक्टर बोलाए पनि उहाँहरुले प्रत्यारोपण गर्ने होइन, केही भवितव्य आएमा पूर्व तयारीका लागि स्ट्याण्ड बाई राख्ने हो ।’
डाक्टर ज्ञवालीले भने, ‘हामीलाई कुनै पनि टिम बाहिरको चाहिँदैन । तर प्रधानमन्त्रीको नै मिर्गौला प्रत्यारोपण गर्ने भएर ब्याकअपका लागि बोलाउने कि भन्ने कुरा भएको छ तर टुङ्गो लागिसकेको छैन। हामी आजै बसेर छलफल गर्छौं ।’ उनले थपे, टिम बोलाउँदा नजिक भारत छ, उहाँहरू नै बोलाइन्छ ।’
प्रधानमन्त्रीको शल्यक्रियाका लागि भारतीय डाक्टर ‘स्ट्याण्ड बाई’ मा हुन सक्ने स्रोतले जानकारी दिएको छ । ३ देखि ५ घण्टामा मृगौला प्रत्यारोपणको काम सकिने र बिरामीको अवस्था हेरेर थप उपचार विधि अपनाइने डाक्टर ज्ञवालीले बताएका छन् ।
आइतबार माले महासचिव सीपी मैनालीलाई भेट्न ग्राण्डी अस्पताल पुगेका प्रधानमन्त्री ओलीले ‘कोलोनोस्कोपी’ गरेका थिए । चिकित्सकहरुका अनुसार मलद्वारबाट पाइप छिराएर पेट सफा गर्ने र आन्तरिक स्थिति थाहा पाउने प्रविधि हो कोलोनोस्कोपी । प्रत्यारोपण गर्नुपूर्व कोलोनोस्कोपी गर्दा आन्द्राको अवस्था ठीक छ या छैन भनेर जाँच्नको लागि कोलोनोस्कोपी गरिन्छ।
प्रधानमन्त्रीलाई कोलोनोस्कोपी गर्दा आन्द्रामा कुनै समस्या नदेखिएको स्रोतले बताएको छ ।
यसअघि प्रधानमन्त्री ओलीको मुटुको अवस्था हेर्न मनमोहन कार्डियो सेन्टरमा एन्जियोग्राफी गरिएको थियो । एन्जियोग्राफी र कोलोनोस्कोपीको रिपोर्ट ‘राम्रो’ आएकाले प्रत्यारोपण गर्न लागिएको हो ।
१२ वर्षअघि पहिलो प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीले गत कात्तिक महिनादेखि नियमित डायलाइसिस गराउँदै आएका छन् । उपचारका लागि गत भदौ ५ गते सिंगापुर गएका ओली ‘प्लाज्माफेरेसिस’ गरेर १५ दिनपछि स्वदेश फर्किएका थिए । तर, ‘प्लाज्माफेरेसिस’ गरेपछि पनि उनको स्वास्थ्यमा सुधार आएन । सोही कारण चिकित्सकहरुले दोस्रो प्रत्यारोपणको विकल्प नभएको सुझाएका थिए । प्रधानमन्त्री ओलीलाई नातिनीले मृगौला दिने भएकी छन् ।


