काठमाडौं १८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्नका लागि नातिनीसँग ‘म्याच’ भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल स्रोतका अनुसार नातिनीको मिर्गौलासँग म्याच गरेपछि उनी तयार भएकी हुन् ।
प्रधानमन्त्री ओलीका नजिकका आफन्ततर्फकी नातिनीको नाम गोप्य राखिएको छ । उनी पहिलेदेखिनै प्रधानमन्त्री ओलीको सान्निध्यमा रहेकी थिइन् । ओलीलाई मिर्गौला दिनका लागि धेरैले इच्छा जाहेर गरे पनि नातिनीसँग म्याच भएको हो ।
मिर्गौला प्रत्यारोपणका लागि अमेरिका लैजाने हल्ला समेत चलेका बेला प्रधानमन्त्रीले भने देशभित्रै उपचार गराउन चाहेको बालुवाटार स्रोतले जनाएको छ । नेपालका सरकारी अस्पताल र चिकित्सकप्रति भरोसा बढाउन पनि प्रधानमन्त्रीले शिक्षण अस्पताल रोजेको स्रोतको भनाइ छ ।
पछिल्लो समय उनले नियमित स्वास्थ्य परीक्षण पनि शिक्षण अस्पतालमै गराउँदै आएका छन् भने एपेन्डिसाइटिसको शल्य क्रिय समेत सोही अस्पतालमा सफल भएको थियो ।


