काठमाडौ ११ फागुन । ७० करोड कमिसन सम्बन्धी अडियो प्रकरणपछि राजीनामा दिएका निवर्तमान सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले छानविन गर्ने भएको छ।
शनिबार बसेको नेकपा सचिवालय बैठकमा बास्कोटाको सम्बन्धमा छानविन गर्ने जिम्मा अख्तियार र सीआईबीलाई दिने निर्णय गरेको महासचिव विष्णु पौडेलले जानकारी दिए।
बैठकमा कतिपय सदस्यहरुले पार्टीका तर्फबाट छानबिन गर्नुपर्ने कुरा उठाए पनि प्रधानमन्त्री केपी ओलीले राज्यका निकायले छानबिन गर्ने भएकाले पार्टीका तर्फबाट छानबिन गर्नु आबश्यक नभएको बताएका थिए।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका क्रममा ७० करोड रुपैयाँ कमिसनका लागि गरेको बार्गेनिङको अडियो सार्वजनिक भएपछि बाँस्कोटाले बिहिबार पदबाट राजीनामा दिएका थिए।


