काठमाडौं ८ फागुन । सञ्चारमन्त्री गोकुल बास्कोटाको कमिसन सम्वन्धी अडियो सार्वजनिक भएसंगै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओली आज बालुवाटारमा भेटवार्ता भएको छ ।
भेटमा सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाको अडियो प्रकरणबारे कुराकानी भएको बालुवाटार स्रोतले जानकारी दिएको छ । ओली र प्रचण्डबीच ‘मन्त्री बास्कोटा काठमाडौं फर्किएपछि यसबारे सोध्ने र त्यसपछि के गर्ने भन्ने विषयमा निर्णयमा पुग्ने’ कुराकानी भएको स्रेतले जानकारी दिएको छ ।
बास्कोटा बिभिन्न कार्यक्रममा सहभागी हुन सुदूरपश्चिम क्षेत्रमा जानु भएको छ । उहा आजै आउने कार्यक्रम रहेको छ ।
स्रोतका अनुसार मन्त्री बाँस्कोटालाई राजीनामा दिन लगाउने या के गर्ने भन्ने विषयमा ओली र प्रचण्डवीच कुराकानी भएको थियो। आज बिहान पौने ११ बजे अध्यक्ष प्रचण्ड बालुवाटार पुग्नु भएको हो। सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि मन्त्री बाँस्कोटाले स्वीस कम्पनीको नेपालस्थित एजेन्टसँग ७० करोड घुसका लागि डिल गरेको अडियो गएराति सार्वजनिक भएको थियो ।
रातिदेखिनै विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा सञ्चारमन्त्री बोलेको अडियो भाइरल भएको छ । सञ्चारमन्त्रीको विषयमा सत्य तथ्य सार्वजनिक गरिनु पर्ने भन्दै सर्वसाधारणले प्रतिक्रिया दिएका छन् ।


