चितवन, ३ फागुन । शिक्षा मन्त्री गिरीराजमणि पोखरेलले सरकारले प्रविधिमैत्री शिक्षामा जोड दिने नीति लिएको बताउनु भएको छ ।
चितवनको माडीमा शनिबार आयोजित शैक्षिक गुणस्तर सुधारका लागि बृहत् शिक्षा सम्मेलनको उद्घाटन गर्नु हुदै विश्व प्रविधिको कारणले धेरै अगाडि वढेकाले त्यसै अनुरुप शिक्षालाई परिमार्जन गर्न लागेको जानकारी दिनु भयो । उहाले भन्नु भयो ‘विज्ञानले प्रविधिलाई ल्याउँछ, त्यही उत्पादन हामीले आत्मसाथ गर्दछौ ।’ परम्परावादी शिक्षाबाट देशको विकास सम्भव हुदैन उहाले भन्नु भयो ‘अब हामी प्रविधिमा जानुको बिकल्प छैन ।’
विश्वमा कसरी शिक्षण कार्य भइराखेको छ भन्ने विषयमा शिक्षकहरु अद्यावधिक हुनुपर्दछ मन्त्री पोखरेलले भन्नु भयो ‘आफू नपढ्ने पुराना कुरालाई पढाइराख्ने परिपाटी शिक्षकले छाड्नु पर्दछ आफू अपडेट हुनुहोस र विद्यार्थीलाई पढाउनुहोस ।’ उहाले भन्नु भयो ‘शिक्षकले विद्यार्थी भित्रको प्रतिभालाई प्रस्फुटित गराउन सक्नु पर्दछ ।’ उहाले शिक्षामा सिकाई केन्द्रीत सुधार गरी परिर्वतन र क्रान्ति आवश्यक भएकोमा जोड दिनु भयो ।
उहाले भन्नु भयो ‘विगतको पठनपाठन कण्ठ गराउने थोत्रो तरिका थियो, यो तरिकाले शिक्षा सुधार र परिर्वतन हुदैन त्यसैले अब शिक्षक जति क्रियाशित हुन्छ त्यतीनै विद्यार्थी सक्रिय हुन्छन् ।’
उहाँले शिक्षालाई श्रम, श्रमलाई सिपसँग र सिपलाई उत्पादन, रोजगार र समृद्धिसँग जोडेर अगाडि बढ्नुको विकल्प नरहेको बताउनु भयो । नेपालको शिक्षालाई अबका दिनमा हिजोको दृष्टिकोणबाट हेर्न नहुने भन्दै मन्त्री पोखरेलले शिक्षामा प्रतिस्पर्धा गरी जानुपर्ने बताउनु भयो । सरकारले सार्वजनिक शिक्षाको सबलीकरणमा योजनावद्धसँग लागेको जानकारी दिनु भयो । ९० प्रतिशत शिक्षाको विकास स्थानीय सरकारमा गएकोले जनताले पनि स्थानीय सरकारको शिक्षा नीति र काममा खबरदारीसगै सहकार्य गर्दै शिक्षाको विकासमा लाग्न सुझाव दिनुभयो ।
सरकारले प्राविधिक शिक्षालाई जोड दिँदै आएको उल्लेख गदै मन्त्री पाखे्ररेलले यहि शैक्षिक सत्रमा सबै प्रदेशका केही सामुदायिक विद्यालयमा प्राकृतिक चिकित्सा, जडीबुटी र आयुर्वेदिक शिक्षा पढाइने जानकारी दिनु भयो । विना अध्ययन, योजना रेखाङ्कन विना नै यस क्षेत्रमा लगानी पनि बढेको भन्दै उहाले उच्च शिक्षामा रहेको ब्यापारीकरण तोड्नुपर्नेमा विशेष जोड दिनुभयो । यसैगरि सरकारले थालेको विद्यालय मर्ज अभियानले शिक्षाको गुणस्तर विकास गर्न थप मद्दत पुग्ने विश्वास गर्दै केहि वर्षमा यसको परिणाम आउने दावी गर्नु भयो ।
उत्पादन र जीवन उपयोगी व्यवहारिक शिक्षा
माडी नगरपालिकाले शिक्षाका लागि २७ बुदेँ घोषणपत्र जारी गर्दै उत्पादन र जीवन उपयोगी व्यवहारिक शिक्षा दिने प्रक्रिया सुरु गरेको जनाएको छ । माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले अब माडी नगरबाट आठ कक्षा पास गरेपछि कमजोर विद्यार्थीहरुलाई कक्षा १० सम्म सिपमुलक तालिमसँगै पढाउने कार्य योजना रहेको जानकारी दिनु भयो ।
नगरका सबै विद्यालयलाई नमुना बनाउने गरि विद्यालय समायोजन गर्नेछौ । ३२ वटा विद्यालय रहेको माडीमा मर्ज गरेर ६ वटा बनाउने तयारी रहेको जानकारी दिनु भयो । प्राविधिक शिक्षामा नगरको जोड छ प्रमुख ढकालले भन्नु भयो ‘शिक्षा विना विकास हुदैन त्यसैले हामीले शिक्षामा जोड दिएका छौ ।’ नीजि सरह बस सुविधाका हालसम्म चारवटा सामुदायिक विद्यालयमा वस सेवा सञ्चालन गरेको जानकारी दिनु भयो ।


