एमसीसी नेपालको हितमा छैन खारेज गर्नु पर्छ

चितवन १ फागुन  । सरकारमा विचारधीन अवस्थामा रहेको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई लागू गर्न नहुने सरोकारवालाहरुले बताएका छन् । अमेरिकाको दादागिरी र साम्राज्यवादी नीतिका कारण एमसीसी आएको भन्दै यसलाई लागू गर्न नहुने उनीहरुले बताएका हुन् ।
जनसरोकार मञ्चले बिहीीबार  चितवनको भरतपुरमा आयोजना गरेको नेपाली भूमिमाथि भारतीय अतिक्रमणका विरुद्धमा खबरदारी एवम् एमसीसी खारेजीको निम्ती दवावमूलक अन्तरक्रियामा बोल्दै नेकपाका नेेेता लिलामणि पोखरेलले अमेरिकाले नेपालमाथि अधिपत्य कायम गर्न एमसीसी ल्याएको बताए । नेपाली भूमि प्रयोग गर्दै अमेरिकाले आफ्नो स्वार्थ पूरा गर्ने तथा यहाँको आर्थिक, सामाजिक तथा राजनीतिक सम्बन्ध बिगार्दै नेपालमाथि हैकम चलाउन एमसीसी ल्याएको पोखरेलले बताए ।
सो कार्यक्रममा परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले भारतको हेपाहा प्रवृत्तिका कारण नेपाली भूमि अतिक्रमण गरेको बताए । भारतीय सुरक्षाकर्मीलाई सीमामा बस्न दिनु तर नेपाली सुरक्षाकर्मी राख्न नसक्नु नेपालको कमजोरीका कारण कालापानीलगायतका भूमि अतिक्रमणमा परेका उनले बताए । नेपाली नक्सा अतिक्रमणलाई समेत हामीले मौन रुपमा स्वीकार गरिरहेको उल्लेख गर्दै उनले नेपालले लिम्पियाधुरा सहितका अतिक्रमिण भूमि समेटिनेगरि नयाँ नक्सा चाँडै प्रकाशन गर्नुपर्ने बताए । नेपाली अतिक्रमित भूमि फिर्ता गराउनकालागि दुई पक्षीय उच्च राजनीतिक संयन्त्र निर्माण गर्नुपर्ने समेत श्रेष्ठले बताए ।
सो कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनका सचिवालय सदस्य तेजेन्द्रबहादुर खड्काले यो इन्डो प्यासिफिक रणनीति भएको भन्दै विरोध भइरहेको बताए । एमसीसी अहिले आएर सम्झौता नभएको उल्लेख गर्दै खड्काले सन् २०१३ मा नेपाली काँग्रेसको सरकार हुने बेलामा भएको सहमति भएको बताए । सोही सहमतिअनुसार एमसीसी लागू गर्न लागिएको भएपनि यसबारे अध्ययन गर्न सत्तारुढ नेकपाले कार्यदल बनाएर अध्ययन गरिरहेको खड्काले जानकारी दिए ।
कार्यक्रममा नेकपा माले चितवनका सचिव पर्शुराम लामिछाने, राष्ट्रिय जनमोर्चाका प्रतिनिधि पुष्पकमल सुवेदीलगायतले मन्तव्य राखेका थिए । जनसरोकार मञ्च चितवनका अध्यक्ष फणिन्द्रराज आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार सूर्यप्रसाद लामिछानेले स्वागत मन्तव्य राखेका थिए ।

शेयर गरौ

ताजा अपडेट