चितवन, २९ माघ । तीन करोड रुपियाँको लागतमा निर्माण भएको पर्यटकीय आकर्षणको केन्द्र अम्बे्रला स्ट्रिटको विहीबार उद्घाटन गर्ने भएको छ ।
भरतपुर महानगरपालिकाको वडा नंं २२ पटिहानीमा निर्माण भएको आकर्षण गन्तव्यको पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने तयारी भएको हो ।
नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गइरहेको पटिहानीमा यो निर्माणले थप पर्यटक आउनको लागि मद्दत पुग्ने वडा नं. २२ का अध्यक्ष विष्णुराज महतोले जानकारी दिनु भयो । आज पत्रकार सम्मेलनको आयोजना गरी स्ट्रिटको निर्माण कार्य पूरा भएसंगै फुड फेष्टिवल आयोजना गर्न लागेको जानकारी दिनु भयो ।
पहिलोपटक स्थानीय खानाका परिकारलाई प्रवद्र्धन गर्न पटिहानी फूड फेस्टिबल आयोजना गरिएको उहले बताउनु भयो । पटिहानी क्षेत्रको प्रवद्र्धनका लागि करिव तीन करोड रुपैयाँको लागतमा अम्ब्रेला स्ट्रिट निर्माण गरिएको र केही पूर्वाधार निर्माण कार्य अझै बाँकी रहेको अध्यक्ष महतोले बताउनु भयो । करिव १० कठ्ठा परिषरमा फैलिएको अम्ब्रेला स्ट्रिटमा लहरै ४८० वटा रंगीन छाता राखिएको छ । रंगीन छाताले सो क्षेत्रको नयाँ सौन्दर्यता प्रदान गरेको छ ।
यही अम्ब्रेला स्ट्रिटको प्रवद्र्धनका लागि फूड फेस्टिबल समेत आयोजना गरिएको हो । फूड फेस्टिबलमा २० वटा स्टलहरु रहेका छन् । स्टलहरुमा स्थानीय खानाका परिकारलाई जोड दिईएको फूड फेस्टिबल प्रचारप्रसार समितिका संयोजक रामहरि सेढाईले जानकारी दिनु भयो । फूड फेस्टिबल फागुन १ गतेदेखि ३ गतेसम्म चल्ने छ । फेस्टिबलमा सांगीतक कार्यक्रम समेत आयोजना गरिएको छ । पहिलो दिन गायक मिलन लामा, टिका सानु, स्मिता दाहालले प्रस्तुती दिने छन् भने दोस्रो दिन पशुपति शर्मा, सागर आले, साजन आले र दिने काफ्लेको प्रस्तुती रहने आयोजकले जनाएको छ । फेस्टिबलको अन्तिम दिन शान्तिश्री परियार र कटाब ब्याण्डको प्रस्तुती रहने प्रचारप्रसार समितिका संयोजक सेढाईले जानकारी दिए ।
पटिहानी क्षेत्रमा आउने पर्यटकका लागि फेस्टिबलको अवधिमा विशेष प्याकेजहरु समेत घोषणा गरिएको छ । अम्ब्रेला स्ट्रिटको समुद्घाटनको दिन भोलि (बिहीबार) पाँच हजार मिटर दौड प्रतियोगिता, उद्योग वाणिज्य संघ चितवनको परिषरदेखि अम्ब्रेला स्ट्रिटसम्म साइकल रेस, फेस्टिबल अवधिभर डुंगा सयर, गाडा सयर, हात्ती र जीप सफारीको व्यवस्था गरिएको छ ।

पछिल्लो समय पटिहानी चितवनको नयाँ आकर्षक गन्तव्यको रुपमा विकास भइरहेको छ । नेपाल सरकारले पछिल्लो समय सूचीकरण गरेको १०० नयाँ पर्यटकीय गन्तव्यमा पटिहानी पनि पर्दछ । पटिहानीमा थ्री स्टारसम्मका होटलहरु खुल्दैछन् । हाल पटिहानीमा ९ सय वटा कोठा साना तथा ठूला होटलहरुमा रहेका छन् ।
कार्यक्रममा पटिहानी पर्यटकन विकास समितिका अध्यक्ष शंकर थपलियाले निकुञ्ज भित्र हात्ती सफारी सञ्चालन गर्न दिएमा पटिहानीको आकर्षण वृद्धि भएर जाने बताउनु भयो । यहाँको पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धनको लागि निकुञ्ज प्रवेश आवश्यक रहेको छ । कार्यक्रममा विकास समितिका उपाध्यक्ष साजन महतोको उपस्थिति रहेको थियो ।


