काठमाडौ २७ माघ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको घटनामा यसअघि बनेको प्रतिवेदन गलत भएको भन्दै प्रहरीले अर्काे प्रतिवेदन बनाएको छ । डिआइजी सुरज केसी नेतृत्वको पुनरावलोकन समितिले एआइजी धिरु बस्नेत नेतृत्वको प्रतिवेदन गलत रहेको निष्कर्ष निकालेको छ । नयाँ प्रतिवेदनसँगै पुरानो प्रतिवेदन कार्यान्वयन नगर्न प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरलाई निर्देशन दिएको छ ।
एआइजी बस्नेत नेतृत्वको प्रतिवेदनले सो घटनामा प्रहरीले प्रमाण नष्ट गरेको तथा नक्कली अभियुक्त खडा गर्ने प्रयास गरेको उल्लेख गरेको थियो । जुन प्रतिवेदन तथ्यमा आधारित नरहेको डिआइजी केसी नेतृत्वको समितिले ठहर गरेको छ । पुरानै प्रतिवेदनका आधारमा आठजना प्रहरीविरुद्ध फौजदारी मुद्दा दायर भएको थियो । नयाँ प्रतिवेदनसँगै यो घटनाको अनुसन्धान नयाँ मोडमा पुगेको छ ।
नयाँ प्रतिवेदन कार्यान्वयनका लागि प्रक्रिया अघि बढाइएको प्रहरी प्रवक्ता डिआइजी शैलेश थापा क्षेत्रीले बताए । ‘डिएनए परीक्षणमा त्रुटि भएको कुरा आएपछि पहिलाको प्रतिवेदनमा रिभ्यु गर्न कमिटी बनेको थियो,’ डिआइजी क्षेत्रीले भने, ‘अब अन्य कोणबाट पनि अनुसन्धानका लागि कार्य तथा अपराध अनुसन्धान विभागलाई प्रतिवेदन पठाइएको छ ।’ नयाँ प्रतिवेदनमा दिलीपसिंह विष्ट नै अभियुक्त हुने प्रबल सम्भावना रहेको औँल्याइएको छ ।
घटनाको करिब एक महिनापछि पक्राउ परेका विष्ट डिएनए नमिलेपछि छुटेका थिए । राष्ट्रिय मानवअधिकार आयोग तथा डिएनए विज्ञ जीवन रिजाल नेतृत्वको छानबिन समितिले डिएनए परीक्षण प्रक्रिया नै गलत भएकाले डिएनएबाट अभियुक्त पत्ता नलाग्ने निष्कर्ष निकालेको हो । लामो अनुसन्धानमा अन्य कुनै अभियुक्तको सम्भावना नदेखिएको र परिस्थतिजन्य प्रमाणले दिलीप नै अभियुक्त भएको औँल्याइएको छ । सोही आधारमा पछिल्लो समय प्रहरी अनुसन्धान दिलीपमाथि नै केन्द्रित छ ।
नयाँ पत्रीकाबाट


