काठमाडौ २२ माघ । नेकपाको संगठन विभागमा स्थायी समिति सदस्य भीम रावलसहित १० जना सदस्य थप भएका छन् ।
गत आइतबार बसेको सचिवालय बैठकले विभागीय प्रमुख बामदेव गौतमले सिफारिस गरेका नामहरू अनुमोदन गरेसँगै संगठन विभागमा नयाँ सदस्य थप गर्ने बाटो खुलेको थियो । तेस्रोपटक थप गरिँदा संगठन विभागमा रावलसँगै भीम आचार्य, शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ, मातृका यादव, सत्यनारायण मण्डल, खगराज भट्ट, सुदन राई, रेखा शर्मा र जगप्रसाद शर्माको प्रवेश भएको छ । उनीहरूमध्ये गुरुङ गण्डकी प्रदेश र पोखरेल प्रदेश ५ का मुख्यमन्त्रीसमेत हुन् ।
गत ३ साउनमा बसेको सचिवालय बैठकले संगठन विभागमा गौतमलाई प्रमुख र जनार्दन शर्मालाई उपप्रमुख तोकेको थियो भने २९ असोजमा अष्टलक्ष्मी शाक्य, भानुभक्त ढकाल र हरि अधिकारीको विभागमा प्रवेश भएको थियो । तर पछिल्लोपटक संगठन विभागमा १० जना सदस्य थपिए पनि विभागले पूर्णता भने पाएको छैन । नेकपाको विभागहरू पूर्ण हुन ३५ सदस्य हुनु पर्नेछ ।
‘विभागमा सदस्यका हिसाबले मेरो जिम्मेवारी पूरा गर्ने छु,’ रावलले नयाँ पत्रिकासँग भने, ‘यसअघि पनि पार्टीमा संगठन विभागमा काम गरेको अनुभवले समेत मलाई साथ दिनेमा विश्वस्त छु ।’ अमेरिकी सहयोग (एमसिसी) सरकारले स्वीकार्न नहुने अडान राख्दै आएका रावल नेकपाको सुदूर पश्चिम प्रदेश इन्चार्जसमेत हुन् ।
यसैबीच, नयाँ सदस्यहरू थपिएलगत्तै बसेको संगठन विभागको बैठकले महाधिवेशनको आगामी कार्ययोजना तयार पारेको छ । महाधिवेशन मिति तय भइसकेकाले त्यसलाई आधार बनाएर विभागले आफ्नो कार्ययोजना बनाएर अघि बढ्ने निर्णय भएको सदस्यहरूले बताएका छन् ।


