काठमाडौ २० माघ । काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रियसभा गृहमा सम्पन्न सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटीको बैठकसँगै साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा रात्रिभोज आयोजना भएको छ । भोज पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएका हुन् ।
रात्रिभोज हार्दिकता साटासाट तथा केन्द्रीय सदस्यहरूसँगको भेटका लागि आयोजना गरिएको केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले जानकारी दिए । भोजमा अहिले विवादास्पद रहेको एमसिसीलगायतका विषयमा अनाैपचारिक रूपमा छलफल हुने भनिए पनि खास कुरा नभएको खतिवडाले बताए ।
भोजमा नेकपाका राष्ट्रियसभा तथा प्रतिनिधिसभाका सदस्यहरूसमेत उपस्थित थिए । भोजमा प्रधानमन्त्री ओलीले उपस्थित सबैसँग हात मिलाएर हार्दिकता साटेका थिए ।


