रंगशाला महायज्ञ सुरु : मह जोडीसहित २१ खेलडीले गरे उद्घाटन

चितवन १९ माघ । चितवनको रामपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालालाई आर्थिक सहयोगार्थ आइतबारबाट महायज्ञ महोत्सव सुरु भएको छ ।
२६ गतेसम्म चल्ने महोत्सवको मह जोडी मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यसहित २१ खेलाडीले उद्घाटन गरेका हुन् । उद्घाटन अगाडि मध्यान्ह १२ बजे मंगलपुरबाट झाँकीसहितको वृहत शोभायात्रा निकालिएको थियो । शोभायात्रामा संघ संस्थाको ब्यानरसहित हजारौको उपस्थिति रहेको थियो । मंगलपुर बजारबाट सुरु भएको शोभायात्रा गाबिसचोक हुँदै रंगशाला पुगेको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले रंगशाला निर्माणका लागि चितवन एक ढिक्का भएको बताउनु भयो । उहाले राजनीतिक बिचार, जात धर्म भन्दा माथि उठेर यो महान अभियान सफल बनाउन चितवन जुरुक्कै उठेको अनुभुती भएको बताउनु भयो ।
अर्का वरिष्ठ हास्य कलाकार हरिबंश आचार्यले चितवनमा निर्माणाधिन रंगशाला देशकै गहना भएको बताउनु भयो । रंगशालाले चितवनको महत्व अझै बढ्ने उहाले विश्वास व्यक्त गर्नु भयो । रंगशाला निर्माण सम्पन्न भएपछी नेपाली खेलाडीहरुसहित सम्पूर्ण नेपालीहरुको छाती गर्वले फुल्ने उहाको भनाई थियो ।
पूर्व राष्ट्रिय तेक्वान्दो खेलाडी तथा प्रशिक्षक एवं रंगशाला खेलकुद समितिका संयोजक दीपक बिष्टले आफ्नो पालोमा यस्तो रंगशालामा खेल्ने मौका नपाए पनि भावी पिडीले अवसर पाउनेमा निकै खुशी लागेको बताउनु भयो । ‘हामीले खेल्न नपाए पनि भावी पिडीले यही रंगशालामा खेल्न पाउनेछन् उहाले भन्नु भयो, ‘यो रंगशालामा नेपालको झण्डा फहराएको हेर्न पाउदा निकै खुशी हुनेछौं ।’
प्रतिनिधिसभा कानुन, न्याय तथा मानवअधिकार समितिको सभापति कृष्णभक्त पोख्रेलले जनआन्दोलनपछि चितवनमा पहिलो पटक यती धेरै जना जागरुक भएको बताउनु भयो । रंगशालाले नेपाली बीचको एकतासँगै ठुला राष्ट्रहरुबीचको तिक्तता पनि हटाउने उहाको भनाई थियो ।
‘केही बलियो राष्ट्रहरुको सम्बन्ध राम्रो छैन उहाले भन्नु भयो, अब केन्द्रले होइन यही रंगशालाले सम्बन्ध समधुर बनाउछ । यो रंगशालामा भारत र पाकिस्तानलाई क्रिकेट खेलाएर उनिहरुको सम्बन्ध सुधार्न सकिन्छ ।’ यस्तै उहाले आफ्नो एक महिनाको तलब भत्ता रु ५४ हजार रंगशाला निर्माणका लागि सहयोग गर्ने घोषणा समेत गरेका छन् ।
धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) ले नेपालमा अन्तरराष्ट्रिय स्तरको रंगशाला नहुँदा देशमै खेल खेल्न नपाएको भन्ने चौतर्फी आलोचनापछि आफुहरु यो अभियानमा लागेको बताउनुभ यो ।
रंगशालामा ७७ जिल्लाको ७७ वटा कक्ष राखिने बताउदै सबै जिल्लालाई आ–आफ्नो कक्ष निर्माणमा सहयोग गर्न आग्रह पनि गर्नु भयो । सबै जिल्लाले आ(आफ्नो कक्ष निर्माणमा सहयोग गर्नुहोस् उनले भने, पछि रंगशालामा आफ्नो कक्ष देख्दा धुर्मुस सुन्तलीको आँखा रसाउने होइन सम्पूर्ण नेपालीको आँखा रसाउने हो ।’
उहाले रंगशाला निर्माणको सबै हिसाब पारदर्शी हुने भएकोले शंका नगर्न पनि आग्रह गर्नु भयो । धनधान्याचल महायज्ञका प्रमुख वाचक दिनबन्धु पोख्रेलले यो अभियानमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताउनु भयो । उहाले महायज्ञमा आर्थिक सहयोगका देश बिदेशबाट धेरै भक्तजनहरु आउने तयारीमा रहेको बताउदै रंगशाला बन्नेमा ढुक्क हुन आग्रह गर्नु भयो ।
उहाले रंगशाला निर्माणका लागि आफ्नो तर्फबाट एक लाख ११ हजार एकसय ११ रुपैँया सहयोग गर्ने घोषणा गर्नु भयो । नेकपा चितवनका अध्यक्ष यम बहादुर परियारले रंगशाला निर्माणका चितवनका सबै राजनीतिक दलहरु एक भएर अगाडि बढेको बताउनु भयो । नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, प्रदेश साँसद कृष्ण भुर्तेल, लुम्बिनी साँस्कृतिक नगरपालिकाका मेयर मनमोहन चौधरी, उद्योग संघ चितवनका अध्यक्ष राजु पौडेल, धनधान्याचल महोत्सव मुल आयोजक समितिका महासचिव दिनेशकुमार चुके लगायतले मन्तव्य राख्नु भएको थियो ।

शेयर गरौ

ताजा अपडेट