चितवन निकुञ्जमा तीन वटा गैंडा विषाक्त खानाले मरे

चितवन, १९ माघ । चितवन राष्ट्रिय निकुञ्जमा कालगतिले मरेका १४ गैँडामध्ये तीन विषाक्त खानाले मरेका छन् । शनिबार पूर्वी नवलपरासीको सेहेरीमा मृत फेला परेको गैँडा विषाक्त खानाका कारण मरेको प्रारम्भिक अध्ययनले देखाएको छ ।
निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजय श्रेष्ठका अनुसार गत हप्ता तमासपुर क्षेत्रमा एउटा गैँडा र एक महिनाअघि गाँजीपुर क्षेत्रमा अर्को एक गैँडा विषाक्त खानाकै कारण मरेको प्रारम्भिक अध्ययनले देखाएको छ । गत साता मरेको गैँडाको पेटमा १० महिनाको बच्चासमेत रहेको थियो । श्रेष्ठका अनुसार ती गैँडाको आन्द्रा र पेटमा रक्तश्राव भएको शव परीक्षणमा देखिएको छ । यद्यपि कारण प्रष्ट हुनका लागि विषादी परीक्षण गर्न प्रयोगशालाको खोजी भइरहेको उहाले जानकारी दिनु भयो ।
ती गैँडाका अङ्गको नमूना सुरक्षित राखेका छौँ, कहाँ विषादीको परीक्षण हुन्छ बुझ्ने काम भइरहेको छ । मरेका तीनै गैँडाको अन्य महत्वपूर्ण अङ्गमा कुनै समस्या नदेखिएको उहाले बताउनु भयो । सबै गैँडाको पेटमा तोरी देखिएको भन्दै उहाले विशाक्त तोरीका कारण मरेका पनि हुनसक्ने अनुमान गरिएको जानकारी दिनु भयो । यद्यपि प्रयोगशालाबाट परीक्षण भएपछि मात्र यकीन भन्न सकिने उहाको भनाइ छ ।

शेयर गरौ

ताजा अपडेट