काठमाडौं, १९ माघ । कोरोना भाइरसको केन्द्रविन्दु चीनको हुबेई प्रान्तको वुहानबाट स्वदेश फर्कन १७० जनाले बेइजिङस्थित नेपाली दूतावासलाई निवेदन दिएका छन् ।
कोरोना भाइरसका कारण वुहानमा भयावह स्थिति सिर्जना भएपछि दूतावासले शनिबार सूचना जारी गर्दै नेपाल फर्कन चाहने नेपालीलाई आवेदन दिन अनुरोध गरेको थियो ।
हालसम्म १७० जनाले नेपाल फर्कनको लागि आवेदन दिइसकेको बेइजिङस्थित नेपाली दूतावासका उपनियोग प्रमुख सुशील कुमार लम्साल जानकारी दिएका छन् । उनले परेका आवेदनको छिटो पुनः प्रमाणीकरण गरेर उनीहरुलाई छिट्टै नेपाल फर्काउने प्रयास भइरहेको समेत जानकारी दिए ।
सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको उहानमा पहिलो पटक कोरोना भाइरस देखिएको थियो । त्यसयता आइतबार बिहानसम्म कोरोना भाइरस संक्रमणका कारण चीनमा मात्र ३०५ जनाले ज्यान गुमाइसकेका छन् । यो भाइरसले विश्वका १४ हजार ३ सय जनालाई संक्रमित बनाइसकेको छ । कोरोना विश्वमा २५ देशमा देखिएको पुष्टि भइसकेको छ ।
वुहानमा कोरोना भाइरस बिरामी र मृत्यु हुनेको संख्या बढेपछि विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरेको छ । आज कारोना भाइरसका कारण फिलिपिन्समा एक जनाको ज्यान गएको छ । यो भाइरसका कारण चीन बाहिर ज्यान गएको पहिलो हो । महामारीको रुप लिएको कोरोना भाइरसबाट आफ्ना नागरिक बचाउन विभिन्न देशले उहानबाट आफ्ना नागरिक उद्धार गरिरहेका छन् । यसैक्रममा नेपालले पनि आफ्ना नागरिकको उद्धार कार्य प्रारम्भ गरेको हो ।
‘पहिलो कार्य नेपाली विद्यार्थी वुहानको कुन–कुन स्थानमा छन् भन्ने पहिचान गर्ने हो । टाढा टाढा रहेका विद्यार्थीलाई वुहानसम्म ल्याउनु पर्छ । त्यसपछि मात्र नेपाल फर्काउने हो,’ उपनियोग प्रमुख लम्सालले उद्धारको योजना सुनाए ।
चीन सरकारले अनुमति दिएपछि वुहान वरपरका विद्यार्थीलाई वुहानमा ल्याउने र त्यसपछि सबैलाई विमानस्थल ल्याइने जनाइएको छ । विमानस्थलमा सबैको स्वाथ्य जाँच गरिन्छ । कसैमा कोरोना भाइरसको संक्रमण देखिए उनीहरुलाई फर्कन दिइने छैन । त्यस्ता व्यक्तिलाई त्यहीँको अस्पताल भर्ना गरिन्छ । जसमा कोरोना भाइरसको संक्रमण देखिने छैन उनीहरुलाई नेपाल फर्काइने छ ।
कोरोना भाइरस चीन, नेपाल, क्यानडा, अमेरिका, फिनल्याण्ड, जर्मनी, बेलायत, फ्रान्स, स्पेन, इटाली, रुस, युएई, भारत, श्रीलंका, भियतनाम, थाईल्याण्ड, कम्बोडिया, मलेसिया, दक्षिण कोरिया, जापानन, ताईवान, हङकङ, फिलिपिन्स, मकाउ, सिंगापुर र अष्ट्रेलियामा देखिएको छ ।
चीनबाट फर्काइने नेपालीलाई अलग्गै राख्न यस्तो छ तयारी
चीनमा कोरोना भाइरस संक्रमणको जोखिममा रहेका नेपालीलाई स्वदेश फर्काउने तयारीसँगै उनीहरूलाई यहाँ राख्ने सुरक्षित स्थानको खोजी तीव्र पारिएको छ ।
यदि उनीहरूमा कोरोना भाइरसको संक्रमण रहेछ भने अरूलाई नसरोस् भनेर शुरुमा सुरक्षित रूपमा अलग्गै राख्नुपर्ने भएकाले अहिले त्यस्तो स्थानको धमाधम खोजी भइरहेको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठका अनुसार चीनबाट स्वदेश फर्काइने नेपालीलाई सिधै घर जान दिइने छैन । कम्तीमा उनीहरूलाई दुई हप्ता अन्यसँग सम्पर्क र लसपस नहुने अलग्गै स्थानमा राखिने छ ।
‘त्यसका लागि अहिले हामी धमाधम स्थान खोजिरहेका छौं,’ प्रवक्ता श्रेष्ठले भने, ‘सेनाका ब्यारेक, विभिन्न सरकारी तालिम केन्द्र, विद्युत् प्राधिकरण जस्ता स्थान हामीले हेरिरहेका छौं ।
उनका अनुसार काठमाडौं नजिकका सशस्त्र प्रहरीको ककनी र मातातीर्थ तालिम केन्द्र तथा सेनाको पाँचखालस्थित यूएन ट्रेनिङ सेन्टरलाई सम्भावित ठाउँका रूपमा हेरिएको छ ।
यसैगरी ललितपुरको जावलाखेलस्थित स्टाफ कलेज, भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्र, नगरकोट जाने बाटोमा रहेको विद्युत् प्राधिकरणको तालिम केन्द्र र कीर्तिपुरस्थित आयुर्वेद तालिम केन्द्रलाई समेत क्वारेन्टाइन स्थलमा प्रयोग गर्न सकिने ठाउँका रूपमा पहिचान गरिएको उनले बताए ।
कोरोना भाइरस संक्रमण भए पनि त्यसका लक्षण देखिन कम्तीमा १४–१५ दिन लाग्ने भएकाले यस अवधिभर ती नेपालीलाई क्वारेन्टाइनमा राख्न यी स्थानको खोजी गरिएको हो । प्रवक्ता श्रेष्ठका अनुसार नोवल कोरोनाको प्रकोप फैलिएको चिनियाँ भू–भागबाट स्वदेश फर्काइने नेपालीहरूलाई १५ दिनसम्म चिकित्सकीय सुविधासहितको क्वारेन्टाइनमा राखिने छ ।


