आतंक मच्चाएको रोनाल्डो हात्तीमा रेडियो कलर जडान

चितवन २५ पुस । मेघौलीको  मानव बस्तीमा प्रवेश गरेर आतंक फैलाएको रोनाल्डो हात्तीमा रेडियो कलर जडान गरिएको छ। चितवन राष्ट्रिय निकुञ्जको हात्तीलाई नियन्त्रणमा लिएर स्याटेलाइट रेडियोकलर जडान गरेर दार्हा  काटेर छाडिएको छ ।

चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्राकृतिक संरक्षण कोष सौराहाका चिकित्सक तथा प्राविधिकले रेडियो कलर जडान गरेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेले जानकारी दिनु भयो । पछिल्लो दुई सातादेखि रोनाल्डोले भरतपुर महानगरपालिका वडा नम्बर २७ र २८ मा आतंक फैलाएको थियो ।

रोनाल्डो भएको स्थान र त्यसको गतिविधि पत्ता लगाउन रेडियो कलर जडान गरिएको घिमिरेले बताउनु भयो । रेडियो कलरमार्फत कसरास्थित निकुञ्जको कार्यालयबाटै हात्ती कहाँ कस्तो अवस्थामा छ भन्ने पत्ता लाग्छ ।

“दाह्रा काटेपछि हात्तीले कमजोर महसुस गर्छ, जसले क्षति कम गर्छ”, उनले भने। दाह्रा काट्दा हात्तीको स्वास्थ्यमा कुनै असर नगर्ने र निकुञ्जमा पालिएका हात्तीको पनि काट्ने गरेको जानकारी दिनु भयो । स्थानीयको केराखेती, घरमा भण्डार गरेर राखेको खाद्यान्न र घर गोठमा समेत क्षति पुर्‍याएको भरतपुर महानगरपालिका–२८ का वडाध्यक्ष आशबहादुर कुमालले बताउनु भयो ।

नेपाल भारत आवतजावत गर्ने करिब ४० देखि ५० हात्ती निकुञ्जमा रहेको घिमिरेले जानकारी दिनु भयो । यश अघि चितवन राष्ट्रिय निकुञ्जमा ध्रुवे हात्तीलाई रेडियो कलर जडान गरिएको थियो। चितवनमा जङ्गली हात्तीको आक्रमणबाट बर्सेनि धनजनको क्षति हुने गरेको छ । वर्षौंदेखि निकुञ्ज र बस्तीबीच व्यवस्थित तारबारको माग उठ्दै आएको छ ।

शेयर गरौ

ताजा अपडेट