जलाशयमा चरागणना : हाँस प्रजातीका चरा मासिदै

चितवन समाचार डटकम,
२३ पुस । चितवनसहित देशभरका जलाशय र त्यस आसपास पाइने चराहरुको गणना कार्य सुरु भएको छ ।
जलाशयमा पाइने चराको सख्या, वासस्थानको अवस्था, घटेको वढेको स्थितिबारे जानकारी लिनको लागि गणना कार्य सुरु भएको हो । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा गणना कार्य भएको छ ।
चरा गणनाका राष्ट्रिय संयोजक डा. हेमसागर बरालले चितवनसहित चरा पाइने देशभरका जयालयमा गणना कार्य सुरु गरिएको जानकारी दिनु भयो । पूर्वमा कोसी, सुनसरी, मोरङ सप्तरी, चितवन, लुम्बिनी क्षेत्र, वर्दिया हुदै कञ्चनपुरसम्मको जलाशयमा गणना गर्ने वरालले बताउनु भयो । त्यस्तै गरी काठमाण्डौको टौदह लगायतको स्थानमा पनि गणना हुदैछ ।
हरेक वर्ष गरीने जल चरा गणना यसपटक पुस १९ देखि माघ ५ गते (जनवरी ४ देखि १९) सम्म गर्ने तालिका छ । तर झरीका कारण दुई दिन ढिला गरी पुस २१ गतेदेखि गणना सुरु भएको छ । झण्डै २० जनाको सख्यामा गणनामा जुटेका छन् । बरालले भन्नु भयो ‘तराइदेखि हिमाली मुस्ताङ जिल्लासम्म ६० ठाउँमा चराको गणना हुनेछ ।’
चितवनमा जल चरा गणनाका लागि नारायणी नदीकिनार, राप्ती नदी, तालहरुमा टोली परिचालन भएको छ । सोमबार र मंगलबार निकुञ्जको पूर्वी कुमरोजदेखि कसरासम्मको स्थानमा गणना भइसकेको चरा विज्ञ वासु विराडीले जानकारी दिनु भयो । उहाले भन्नु भयो ‘दुइदिनसम्म गरेको गणनामा सख्या घटेको पाएका छैनौ ।’ वास स्थानको विनासको कारण सख्यामा कमी आउछ की भन्ने शंका लागेको थियो उहाले भन्नु भयो दुइदिनको अवस्थाले सख्या कमी हुदैन भन्ने लागेको छ ।
गणनामा क्यामेरा, वाइनोकुलर र टेलिस्कोपको प्रयोग गरिएको छ । नवलपुरको सिर्खौलीदेखि अमलटारी र अमलटारीदेखि त्रिवेणी गण्डक नहरसम्म चरा गणना गरिने छ । चितवनको सिमसार क्षेत्रमा चखेवाचखेवीको संख्या बढी र हाँसका प्रजाति जस्तै, खोया हाँस, जुरे हाँस, सुइरो ढुँडे चराको संख्या कमी भएको चराविद् बिडारीले बताउँनु भयो ।
चितवनमा छ सय प्रजातिका जल चराहरु भेटिएको विडारीले बताउनु भयो । घोडाघोडी, बर्दिया, कोशी टापु लगायतका क्षेत्र जल चरा धेरै पाइने क्षेत्रमा पर्दछन् । नेपालमा ८८० प्रजातिका चरा पाइन्छन् ति मध्ये जलचरा २ सय प्रजातिका छन् । हिमाली प्रकृति नामक संस्थाको सहयोगमा गरिने चरा गणना नेपालमा सन् १९८७ देखि सुरु भएको हो । देशभर गरिने गणनामा ४० जना विज्ञसहित करीव तीनसय जनाको सहभागीता रहने गरेको छ ।
सिमसार र आसपासको क्षेत्रमा प्रजनन गर्ने, चरन गर्ने र आफ्नो अधिकांश समय व्यतित गर्ने चराका प्रजातिलाई पानीचरा अथवा जलपक्षी भन्ने गरिन्छ । मुलुकभरका पाँच दर्जन बढी सिमसार क्षेत्र, तालतलैया र नदीमा गरिने जलपक्षी गणना तराई क्षेत्रका सिमसार क्षेत्रमा बढी केन्द्रित हुनेछ । वेटलेण्ड इन्टरनेसनलको अगुवाइमा विश्वभर नै यही समयमा जलपक्षी गणना हुँदै आएको छ । चराहरुको प्रजाति, सिमसार क्षेत्रको अवस्थिती तथा संकाटापन्न चराहरुको अवस्थाका बारेमा गणनाबाट जानकारी मिल्ने चरा विज्ञ डा.बरालले जानकारी दिनु भयो ।
यस पटक हिमाली जिल्लामा पनि गणना गरिने भएकाले केही चराको सख्या थपिन सक्ने उहाले बताउनु भयो । डाक्टर बरालका अनुसार फिरन्ते जातका चरा, चम्चे चरा,आसी ठुडे, हास प्रजातीको चरा, सुइरोपुच्छ्र्र्रे, स्वेतआँखी प्रजातीको चरा घट्दै गएको छ । वास स्थान मासिने, मानवको अतिक्रमण लगायतले चराहरु मासिदै गएको उहाले बताउनु भयो ।

शेयर गरौ

ताजा अपडेट