काठमाडौंं, २३ पुस । प्रहरीले राष्ट्रिय जनता पार्टी (राजपा) का केन्द्रीय सदस्य रामबाबु राय यादवलाई पक्राउ गरेको छ । घर–जग्गा कब्जा गरेको आरोपमा सर्लाही प्रहरीले केन्द्रीय सदस्य यादवलाई पक्राउ गरेको हो ।
सर्लाहीका पीडितहरुले बुधबार गृह मन्त्रालयमा आएर प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँग गुनासो पोखेलगत्तै खनालले जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई यादवलाई पक्राउ गर्न निर्देशन दिएका थिए ।
आइजीपी खनालको निर्देशन लगत्तै यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यादव बरहथवा नगरपालिकाको मेयर पदको निर्वाचनमा तेश्रो भएका व्यक्ति हुन् ।
यादवसँगै तत्कालीन नयाँ शक्ति पार्टीका प्रदेशसभा उम्मेद्वार सञ्जय रौनियारले समेत ऋण दिँदा रजिष्ट्रेसन नै पास गरेर घरजग्गा नै कब्जामा लिने गरेको भन्ने उजुरी परेको थियो । यादवमाथि जनतालाई लाख ऋण दिएर करोडको तमसुक बनाउने गरेको आरोप समेत लाग्ने गरेको छ ।


