चितवन २२ पुस । पहिरो रोक्ने काम नसकिएको भन्दै मुग्लिन नारायणगढ सडक खण्ड बन्द गरिदै आएको समय लम्बिएर पुस २४ सम्म पुगेको छ ।
पहिरो रोक्ने काम गर्नको लागि बिहान ११ बजेदेखि दिउँसो तीन बजे दैनिक चार घन्टा बन्द हुने भएको छ । मंसिर २७ गतेदेखि दुई हप्ताका लागि भनेर बाटो बन्द हुन सुरु भएको थियो । यसअघि काम नसकिएको भन्दै पुस २२ गतेसम्म बन्द हुने भनिएको थियो । यो समयमा पनि काम पूरा नभएपछि थप दुई दिन बाटो बन्द हुने भएको हो ।
‘काम केही बाँकी रहयो। त्यसैले पुस २४ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो तीन बजेसम्म बाटो बन्द हुने भएको छ’ नारायणगढ मुग्लिन सडक आयोजानका सूचना अधिकारी इन्जिनियर शिव खनालले भन्नु भयो । नारायणगढ मुग्लिन सडक खण्डलाई दुई लेनको फराकिलो सडक बनाउने काम गत वर्ष मात्रै सकिएको थियो। सडक फराकिलो बनाउनका लागि पहाड काटेको ठाउँमा पहिरो जाने समस्या सुरु भएको थियो।
पहिरो जाने क्रम रोक्नको लागि पहाडमा खोपेर जाली राख्ने काम भइ राखेको छ म दीर्घकालीन समाधानको लागि यसो गरिएको हो । सडक आयोजनाले आज सुचना जारी गरी बन्दको जानकारी दिएको हो ।


