काठमाडौ २१ पुस । संघीय संसद, प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले छाउपडी प्रथालाई प्रोत्साहन गर्नेलाई कडा कारवाही गर्न सरकारलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा सोमबार बसेको समिति बैठकले संस्कारका नाममा गलत व्यवहार गर्ने कसैलाई छुट नहुने भन्दै जसको घरमा यो चलन छ, त्यो घरका अभिभावक र महिलालाई कारबाही गर्ने व्यवस्था मिलाउन गृहमन्त्रालयलाई निर्देशन दिएको हो ।
त्यस्तै समितिले गत वर्ष बाजुरालगायत जिल्लामा स्थलगत अध्ययन गरी अल्पकालीन र दीर्घकालीन सुझावसहितको प्रतिवेदन महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा पठाइए पनि कार्यान्वय नभएको र तत्काल रणनीति बनाएर प्राथमिकताका कार्यान्वयनमा ल्याउन पनि निर्देशन दिइएको छ ।
बैठकले सुदूरपश्चिम तथा कर्णाली प्रदेश एवं स्थानीय तहसँग समन्वय गरी तत्काल कार्यसम्पादन गर्न पनि महिला बालबालिका मन्त्रालयलाई निर्देशन दिइएको छ । यस्ता कुसंस्कार अन्त्य गर्न आवश्यक बजेट उपलब्ध गराउन अर्थ मन्त्रालयलाई पनि निर्देशन दिएको समिति सभापति निरुदेवी पालले जानकारी दिए । बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले छाउपडी प्रथा लगाएत अन्त्य गर्न स्थानिय सरकारलाई नै जिम्मेवार बनाउनुपर्नेमा जोड दिए ।
समितिले अमानवीय संस्कारगत व्यवहारविरुद्ध सामाजिक ऐक्यबद्धता कायम गराउने वातावरण सिर्जना गर्न महिला, गृह, सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई समेत समितिले निर्देशन दिएको छ ।


