सुर्खेत,१८ पुस । कर्णाली प्रदेशमा वर्षासँगै भारी हिमपात भएको छ ।
हिमाली जिल्लामा भारी हिमपात भएको छ भने पहाडी जिल्लाका उच्च भागमा हिमपात र बेँसीमा वर्षा भएको छ । बुधबारदेखि चिसो बढ्दै गएपछि बिहीबार बुेलुकाबाट हिमपात भएको हो । हिमपातले हिमाली जनजीवन निकै कष्टकर बन्दै गएको छ । हिमाली जिल्लामा वर्षासँगै हिमपात भएको छ । सुर्खेत उपत्यकामा बिहीबार बेलुकाबाट अविरल वर्षा र यहाँको रानीमत्ता लेकमा हिमपात भइरहेको छ ।
हिमाली विद्यालय क्षेत्र हिमपातले ढाकिए पनि बिदा भएकाले शैक्षिक क्षेत्र प्रभावित भएको छैन । त्यहाँ अहिले सबै विद्यालयमा जाडो बिदा छ । हिमाली जिल्लाको उच्च भागमा करिब पाँच फिट हिमपात भएको जुम्ला बस्दै आएका मुगुका निवासी नोर्बु लामाले राससलाई जानकारी दिनुभयो । “बाहिर हिउँसँगै पानी परिरहेको छ । बाहिर आउने अवस्था छैन”, लामाले भन्नुभयो, “बर्सेनि यो समयमा जाडो र हिमपात भइरहँदा बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकलाई समस्या हुने गर्दछ ।”


