पर्यटनको विकासबाट आर्थिक समृद्धि : अध्यक्ष प्रचण्ड

सौराहा १० पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पर्यटनको विकासबाट आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनु भएको छ ।
चितवनको सौराहामा आजदेखि सुरु भएको हात्ती महोत्सबको उद्घाटन गर्दै उहाले विश्वका धेरै देशले पर्यटक भित्राएर धेरै उपलब्धी हासिल गरेकाले नेपालले पनि पर्यटन क्षेत्रलाई प्राथमिकता दिएको बताउनु भयो । उहाले नेपालको वनजंगल, खोला नदी, यहाँका प्राकृतिक सम्पदा देखाएर विदेशी मुद्रा हासिल गर्न सकिने भएकाले यसबाट आर्थिक समृद्धि तर्फ जान सकिने बताउनु भयो ।
पूर्व प्रधानमन्त्री समेत रहनु भएका प्रचण्डले पुरानो निकुञ्ज ऐन २०२९ संशोधनको प्रकृया अगाडि बढेको जानकारी दिनु भयो । ‘निकुञ्ज ऐन २०२९ संशोधनको प्रकृया अगाडि बढेको छ । नयाँ ऐनले मानिस, जनावर र निकुञ्जको हित गर्नेछ, नयाँ ऐन निर्माण भएपछि धेरै समस्या समाधान हुने छ ।’
उहाले हात्तीको प्रयोग मानिसमात्र नभई देवताले पनि कसरी गरेका थिए भन्ने कुरा हाम्रा शास्त्रहरुमा धेरै नै लेखिएको उल्लेख गर्नु भयो । ‘मानिसलाई जनावरको सहयोग र जनावरलाई मानिसको सहयोग चाहिन्छ’ उहाँले भन्नुभयो, ‘मानिस र जनावरबीचको सुमधुर सम्बन्धमा दरार पैदा गर्नु हुँदैन ।’
भ्रमण वर्षको पूर्वसन्ध्यामा हात्ती महोत्सवको आयोजना गरी हात्ती र मान्छेबीचको हार्दिक सम्बन्ध प्रदर्शित गर्ने राम्रो पहल भएको उहाँको भनाइ थियो । मानिसको उद्यम, व्यवसायमा हात्तीले पु¥याउने योगदान निकै ठूलो रहेको उहाँले बताउनु भयो ।

‘हामी अवसरको संघारमा छौँ । यस्तो अवसर सधैँ प्राप्त हुँदैन’ अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘आफैँले आफ्नो ठाउँबाट देशको समृद्धिमा योगदान गरौँ । हामीले अबको दशकलाई विकास र समृद्धिको दशकको रुपमा चिनाउनु पर्छ । नेपालले विकासको गतिमा फड्को हान्न खोज्दैछ ।’
कार्यक्रममा प्रदेश सांसदहरु कृष्णप्रसाद खनाल, धनश्याम दाहाल, कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठ, रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनलगायतले मन्तव्य राख्नु भएको थियो ।

शेयर गरौ

ताजा अपडेट