चितवन ७ पुस । चितवनको रत्ननगर ६ बछौलीमा रहेको मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिको समुह गठन र पूर्नगठन प्रक्रिया स्थगित गर्न माग गरिएको छ ।
निर्वाचनलाई लक्षित गरी जारी समुह गठन तथा पुर्नगठन प्रक्रियाकै क्रममा आफ्ना कार्यकर्ता कुटिएपछि नेपाल कम्युनिष्ट पार्टी(नेकपा) रत्ननगर नगर कमिटीले समुह गठन र पूर्नगठन प्रक्रिया स्थगित गर्न माग गरेको हो ।
मृगकुञ्ज उपभोक्ता समिति अन्तर्गतका समुहहरुको घरधुरी कायम गर्ने सन्दर्भमा उक्त समितिका अध्यक्षबाट कतिपय समुहको निर्णय, सिफारिस र जानकारी बिना, आफ्नै समितिका पदाधिकारीहरुलाई समेत गुमराहमा पारी पदीय मर्यादा भन्दा बाहिर गएर निर्वाचन परिणाम आँफुले चाहे जस्तो बनाउने मनसायले पक्षपातापूर्ण ढंगबाट घरधुरी र सदस्य संख्या थपघट गरिएको जानकारीमा आएको भन्दै नेकपाले सो समुह गठन प्रक्रिया तत्कालका लागि स्थगित गर्न माग गरेको हो ।
आफ्ना नेता तथा कार्यकर्तालाई आर्कमण गरेपछि मृगकुञ्ज उपभोक्ता समिति र सोसंग सम्बन्धित समुह गठन पुर्नगठन सम्बन्धी सम्पूर्ण प्रक्रिया हाललाई स्थगित गरि सत्य तथ्य छानबीन गरेर मात्रै प्रक्रिया अघि बढाउन चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको कार्यालय कसराको ध्यानाकर्षण गराउँदछौं विज्ञप्तीमा भनिएको छ ।
नगर अध्यक्ष कुलप्रसाद लामिछाने र इन्चार्ज राजु अम्गाईद्धारा जारी विज्ञप्तीमा समुह गठन गरी विवरण बुझाउन मृगकुञ्जको कार्यालयमा पुगेका नेकपाका नगर कमिटी सदस्य श्याम देवकोटालाई नेपाली काँग्रेसका प्रकाश खत्री, यादव पौडेल, हरि श्रेष्ठ, बिकास गुरुङ्ग, बिष्णु गुरुङ्ग, ऋषि गुरुङ्ग र खैरहनी न.पा. वडा नं १३ निवासी श्री तमाङ्ग सहितका ब्यक्तिहरुले फलामको रड, बाँस र चिरपटले हानी घाइने बनाएको जनाइएको छ ।
देवकोटालाई बचाउन घटना स्थल पुगेका जिल्ला कमिटी सदस्य दुर्गाप्रसाद घिमिरे र रोजनाथ पाठकलाई समेत हातपात गरेको भन्दै नेकपा रत्ननगरले दोषीलाई अविलम्व पक्राउ गरी कारबाही गर्न माग गरेको छ । नेपाली काँग्र्रेसका कार्यकर्ताले शान्तिपूर्ण रुपमा भइरहेको निर्वाचन प्रक्रिया विथाल्न नेकपाका नेता तथा कार्यकर्ता माथी आर्कमण तथा कार्यालयमा तालाबन्दी गरेको नेकपा रत्ननगरले जनाएको छ ।


