नारायणीनदीमा पानी जहाज सफल परीक्षण : २०२० मा सञ्चालनमा आउने

मनाेजकुमार भुजेल , चितवन समाचार डटकम
७ पुस । चितवनको नारायणीमा चलाउनको लागि निर्माण भइराखेको पानी जहाजको सफल परीक्षण गरिएको छ ।
भरतपुर महानगरपालिका वडा नंं १६ ज्ञानेश्वर सामुदायिक वनको क्षेत्र काभ्रेघाटमा निर्माण भइराखेको क्रुज सिप (मिनी पानी जहाज)को सफल परीक्षण टेष्ट ड्राइभ गरिएको हो । क्रुज निर्माण गरिरहेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रा.लि.का प्रवन्ध निर्देशक रामचन्द्र कँडेलले भन्नु भयो ‘ आइतबार साढे ३ बजे टेष्ट ड्राइभ गरेका थियौ, परीक्षणमा सफल भएका छौ ।’
निर्माणको क्रममा रहेको क्रुजको ९० प्रतिशत काम सकिएको कडेलले जानकारी दिनु भयो । नारायणगढ बजारबाट करिब ६ किलोमिटर दक्षिण पश्चिममा रहेको काभ्रेघाटबाट नारायणी नदीमा परीक्षण गरिएको हो । ‘एक किलोमिटर जती सञ्चालन गरेका थियौ ’ कडेलले भन्नु भयो ‘हामी सफल भएका छौ, अब बुधबार केही किलोमिटर परीक्षण गर्दैछौ ।’
तीन तला रहेको जहाजको सुन्दरता दिने काम बाँकी रहेको छ । दुइ सय जना अट्ने क्षमता रहेको जहाजमा कुर्सी राख्ने, कार्पेट, रंगरोकन गर्ने, पानी ट्याङकी, विजुली जडान लगायतको काम बाँकी रहेको प्रबन्ध निर्देशक कडेलले जानकारी दिनु भयो । ‘दशै अगाडि सञ्चालनमा ल्याउने तयारी गरेका थियौ, डिजाइनमा केही परिवर्तन गर्नु पर्ने र निर्माणको क्रममा ढिलाइ भएकाले सकेनौ’ उहाले भन्नु भयो ‘सकेसम्म जनवरी महिना भित्र सञ्चालनमा ल्याउने तयारी गरेका छौ ।’


जहाज चल्ने क्षेत्र काभ्रेघाटदेखि देवघाट सम्म करिब २५ किलोमिटरको दुरीमा सफल परीक्षण गरेपछि मात्र उद्घाटन गर्ने छौ उहाले भन्नु भयो । अहिले हतार गरेर घोषणा गर्दैनौ हामी निर्माणको क्रममा छौ, केही समस्या आएमा त्यसलाई समाधान गर्न तर्फ लाग्नु पर्दछ उहाले भन्नु भयो । जहाज चल्ने क्षेत्रमा रहेका अवरोधहरु हटाउने काम भएको छ, अन्य कुनै समस्या भए त्यसको समाधान गर्नु पर्दछ, जहाजलाई दिने सुन्दरता, यसको मापदण्ड सबै पूरा भएपछि मात्र उद्घाटनको मिति घोषणा गर्नेछौ कडेलले भन्नु भयो ।

नर्वेजियन प्रविधि प्रयोग गरेर निर्माणाधीन क्रुज सिपमा भारत केरलाका प्राविधिकले काम गरिरहेका छन् । निर्माण कम्पनीका अनुसार क्रुजमा भीआईपी कक्ष, सेल्फी लिने तथा चलचित्र सुटिङ गर्न मिल्ने युनिट थपिएको छ । पहिलाको भन्दा बाहिरी लुक्स राम्रो देखाउने गरी डिजाइन परिवर्तन गर्दा एक करोड लागत र १० टन वजन थपिएको कम्पनीको भनाइ छ । एक सय फिट लम्बाइ र २५ फिट चौडाइको मिनी पानीजहाजको निर्माण २०७५ बाट थालिएको हो । निर्माण पूरा भइसक्दा यसको लागत १५ करोड माथि पुग्ने प्रबन्ध निर्देशक कडेलले जानकारी दिनु भयो ।
क्रुजको पहिलो तलामा ९० र दोस्रो तलामा १०० जना मानिस अट्ने क्षमता छ । पहिलो तलाको अगाडिपट्टि सेल्फी खिच्ने, चलचित्र वा म्युजिक भिडियो सुटिङ गर्ने खुला ठाउँ छ । यहाँ १५ जना उभिन मिल्छ ।
क्रुज यात्रा सुरक्षित बनाउन दुई वटा इञ्जिन राखिएको छ । दुवै इञ्जिन एकैपटक चल्दैनन् । कुनै कारणले एक इञ्जिनमा समस्या आएमा अर्को चलाइने निर्माण कम्पनीले जनाएको छ । निर्माण कम्पनी ग्राडुअर मरिन इन्टरनेशनलका प्रमुख सञ्चालक जिओजी सेवाइस्टनले क्रुजमा शक्तिशाली इञ्जिन राखिएकाले ढुक्क संग यात्रा गर्न सकिने बताउनु भयो ।


क्रुजको तल्लो तलामा कुनै कारणले प्वाल परेर वा क्षति भएर पानी पसेमा सबै भागमा पानी नजाने गरी डिजाइन गरिएको छ । क्रुज सिप तीन जनाले चलाउने व्यवस्था गरिएको छ । अहिलेलाई चालक र प्राविधिक हाल विदेशी हुनेछन् । पछि नेपाली प्राविधिकहरुले नै यसलाई चलाउने योजना छ । क्रुज राख्नको लागि १५ फिट गहिरो पार्किङ स्टेशन निर्माण गरिएको छ । त्यही पार्किङमा क्रुज निर्माण गरिएको हो । जहाज चढ्न र ओर्लन यही आउनु पर्ने हुन्छ ।
यसै क्षेत्रका प्रदेश सांसद कृष्णप्रसाद भुर्तेलले भन्नु भयो ‘पर्यटनको क्षेत्रमा नयाँ केही काम गरौ भन्ने सोचाइ लिएर युवाहरुले गरेको काममा मेरो समर्थन रहेको छ ।’ जहाज सञ्चालनमा आएपछि नेपाल आएका विदेशी पर्यटकहरु एक पटक चितवन आउने वातावारण बनेको छ उहाले भन्नु भयो यो हाम्रो लागि खुसीको कुरा हो ।


चितवन पर्यटन विकास समितिका महासचिव विश्व सुवेदीले भन्नु भयो ‘वाइल्ड लाइफले परिचित चितवन अब पानी जहाजको पहिचान थपिने भयो, यो जिल्लाको मात्रै होइन नेपालकै लागि राम्रो हो ।’ सफल परीक्षणले नारायणी नदीमा अब पानी जन्य गतिविधि कार्यक्रम सञ्चालन गर्न सकिन्छ भन्ने पुष्टी भएको छ उहाले भन्नु भयो ।
यस अघि नारायणगढ नजिकै नारायणी नदीमा एक दर्जन मोटरवोट सञ्चालनमा आइसकेको छ । यहाँ दशै अगाडि दुइ वटा सञ्चालन भएको वोट अहिले एक जर्दन पुगेको हो । मोटर वोट सञ्चालनको लागि नारायणगढको पाँच टोल विकास सस्थाले जिम्मेवारी लिएको छ ।

https://m.facebook.com/story.php?story_fbid=2914255508605488&id=100000632020304

 

शेयर गरौ

ताजा अपडेट