भाजपाका सांसद बलात्कारी ठहर : जन्म कैदको सजाय

एजेन्सी । भारतीय सत्तारूढ दल भाजपाका एक पूर्वसांसदलाई भारतको दिल्लीस्थित एक अदालतले बलात्कारसम्बन्धी मुद्दामा जन्मकैदको सजाय सुनाएको छ।

दिल्लीको तीस हजारी अदालतले ५१ वर्षीय कुलदीप सेंगरलाई १७ वर्षिया बालिकाको बलात्कार गरेको आरोपमा शुक्रबार जन्मकैदको सजाय सुनाएको हो। साथै अदालतले सेंगरले क्षतिपूर्तिस्वरुप २५ लाख भारतीय रुपैयाँ तिर्नुपर्ने फैसलासमेत गरेको छ।

बालबालिका संरक्षणसम्बन्धी कानुनअनुसार उनीबिरुद्ध मुद्दा दायर गरिएको थियो। गत वर्ष प्रहरीले आफ्नो उजुरीलाई गम्भीरतापूर्वक नलिएको भन्दै पीडितले आत्मदाहको प्रयास गरेपछि यो घटनाले विश्व समुदायको ध्यान तानेको थियो।

सेंगरलाई पार्टीले निस्कासन नगरेको भन्दै भारतीय जनता पार्टीको चर्को आलोचना भएको थियो। पछि ती बालिका चढेको कार दुर्घटनाको योजना उनले नै रचेको आरोप लागेपछि मात्रै भाजपाले सेंगरलाई गत अगस्टमा पार्टीबाट बर्खास्त गरेको थियो।

शेयर गरौ

ताजा अपडेट