काठमाडौं १ पुस । एक वर्षपछि सुरु भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठकमा नेताहरुले आफ्ना धारणा राख्नेक्रम जारी रहेको छ ।
स्थायी कमिटीको चौथो बैठकको तेस्रो दिन मंगलबार पनि स्थायी कमिटीका सदस्यहरुले धारणा पार्टीका गतिविधि र सरकार सञ्चालनका विषयमा धारणा राखेका थिए । पार्टी द्धय अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन तथा महासचिव विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावहरु माथि कमिटीका सदस्यहरुले प्रतिवेदन र संशोधन प्रस्ताव मूलतः सही रहेको धारणा राख्दै थप परिमार्जन र सुधारका लागि सुझाव र आलोचनात्मक टिप्पणी गर्नेक्रम जारी रहेको थियो ।
आज १३ जना सदस्यहरु तथा आमन्त्रित सदस्यहरुले सुझाव र धारणाहरु राखेका पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनु भयो । १३ जना सदस्यहरुमा नन्दकुमार प्रसाईं, सुरेन्द्रप्रसाद पाण्डे, अमृतकुमार बोहरा, बेदुराम भुसाल, शंकर पोखरेल, रघुवीर महासेठ, केशव बडाल, विष्णुपुकार श्रेष्ठ, लेखराज भट्ट, घनश्याम भुसाल, शक्ति बस्नेत, मणि थापा र जनार्दन शर्मा रहेको प्रवक्ता श्रेष्ठले बताउनु भयो ।
श्रेष्ठका अनुसार राजनीतिक प्रतिवेदनमा प्रस्तुत भए बमोजिम पार्टी एकतालाई अझ सुदृढीकरण गर्नुपर्ने, पार्टीको कार्ययोजना ठोस र व्यवस्थित हुनुपर्ने, सरकारको काम अझ प्रभावकारी हुनुपर्ने जस्ता सुझावहरुमा आजका वक्ताहरु केन्द्रित रहेका थिए ।
स्थायी समितिको अर्को बैठक भोलि पुस २ गते बिहान ११ बजे धुम्बाराहीमा बस्नेछ ।


