काठमाण्डौ २९ मंसिर । दोलखाबाट भक्तपुर आउँदै गरेको बस सिन्धुपाल्चोकको ६ किलोमा दुर्घटना हुदा १४ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।
यात्रु लिएरआउदै गरेको बा ४ ख ४४६८ नम्बरको बस सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–७ , स्थित ६ किलो भन्ने स्थानमा दुर्घटना हुँदा १३ जनाको घटनास्थलमा र एक जनाका उपचारको लागि लैजादै गर्दा बाटोमा मृत्यु भएको हो ।
सिन्धुपाल्चोक जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माका अनुसार १३ जनाको ज्यान गइसकेको छ । उपचारको लागि जैजादै गर्दा एकजनाको बाटोमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घटनामा धेरैको अवस्था गम्भिर रहेको उद्धारमा खटिएका प्रहरीले जानकारी दिएका छन् । घटनामा १८ जना घाइते भएको प्रारम्भिक विवरण आएको छ । बसमा के कती यात्रु सवार थिए भन्ने विवरण आउन बाँकी रहेको छ । घाइतेलाई धुलीखेल, वनेपाका अस्पतालमा लगेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार, कालिन्चोक मन्दिर दर्शनका लागि रिजर्भ गरेर गएको बस फर्किने क्रममा आज बिहान सवा ८ बजे दुर्घटना भएको थियो । सडकबाट करिब ५०० मिटर तल बस खसेको थियो । प्रहरी र स्थानीयले घटना स्थलमा यात्रुको उद्धार गरिरहेका छन् ।
सिन्धुपाल्चोकमा यस अघि सुकुटेमा बस दुर्घटना हुँदा १७ जनाको ज्यान गएको थिए । त्यसअघि असोज २४ मा पनि बा २ ख २७१५ नम्बरको बस इन्द्रवाती गाउँपालिका १०, बडहरे झिल्के मोडमा दुर्घटना हुदा १२ जना भन्दा धेरैले ज्यान गुमाएका थिए ।
सवारी दुर्घटनाबाट मानिसको ज्यान जाने क्रम वृद्धि भएको छ । पहाडी जिल्लामा भएको साघुरो बाटो, यात्रुको चाप, चालकको असावधानी, सवारी साधनको कमजोरी लगाएको कारणले दुर्घटना वढेको प्रदेश नं. ३ को ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । शुक्रबार चितवनमा सवारी साधन दुर्घटना हुदा ३५ जना घाइते भएका थिए ।


