चितवन २७ मंसिर । मोवाइलबाटै समाचार लेखन सम्पादन सम्वन्धी दुइदिने मोजो पत्रकारिता तालिम चितवनको भरतपुरमा शुक्रबारबाट सुरु भएको छ ।
नयाँ प्रविधिको माध्यमबाट समाचार लेखन तथा सम्पादनको प्रयोग विकसित मुलुलकमा भएपनि नेपालमा भने भर्खरै भित्रिएको छ । त्यही सिप प्रदान गर्नको लागि मोवाइल पत्रकारिता सम्वन्धी तालिम पत्रकारहरुलाई दिएको हो ।
नेपाल पत्रकार महासंघ चितवन शाखाको आयोजनामा यहाँका नयाँ तथा पुराना पत्रकारहरुलाई यो तालिम दिएको छ । खोज पत्रकारिता केन्द्र(सिआईजे)का प्रशिक्षक रामु सापकोटाले मोबाइलबाट स्तरीय भिडियो खिच्ने, फोटो खिच्ने, अडियो सम्बन्धी तालिम दिनु भएको हो ।
आधुनिक युगमा मोबाइलबाटै पत्रकारिता कसरी गर्ने सकिन्छ, विद्युतीय तथा छापा माध्यममा छिटो समाचार कसरी पठाउने भन्ने विषय जानकारी गराउनु भएको थियो । पत्रकारिता क्षेत्रमा मोबाइल जर्नालिजमको प्रयोग नयाँ भएको र यसबाट धेरै काम गर्न सकिने भएर पनि थाहा नपाउदा पछि परिएको उहाले जानकारी दिनु भयो । तालिमको मार्फत एण्ड्रोइड मोबाइलकै प्रयोगबाट गुणस्तरिय फोटो, भिडियो खिच्न र अडियो लिन सहज हुनेछ ।
तालिमको उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडाले मोबाइल जर्नालजम अहिलेको आवश्यकता भएको बताउनु भयो । उक्त तालिममा जिल्लाका ३० भन्दा बढी पत्रकारहरु सहभागी रहेका छन् ।


