चितवन २६ मंसिर । तीन दिनदेखि चितवनमा रहनु भएका प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले निर्माणधिन गौतम वुद्ध अन्तरराष्ट्रिय रंगशाला आज अवलोकन गर्नु भएको छ ।
जिल्लाका सानादेखि ठुला कार्यक्रमको उद्घाटन, भेटघाटमा रहनु भएका पौडेलले रंगशालामा अबलोकन गर्नु भएको हो । रंगशाला घुमेपछि उहाले निर्माणमा प्रदेश सरकार निरन्तर साथमा रहेको जानकारी दिए । प्रदेश सरकारले रङ्गशाला निर्माणका लागि विनियोजन गरेको पाँच करोड रुपैंया भरतपुर महानगरपालिकामा पठाएको जानकारी दिँदै रङ्गशाला निर्माणस्थलमा भएको प्रगतिले उत्साह जागेको बताउनु भयो ।
‘रंगशाला निर्माणमा दृढताका साथमा लाग्नुहोस, हामी सहयोगमा कुनै कसर बाँकी राख्दैनौ’ मुख्यमन्त्री पौडेलले भने । उनले विकास निर्माणमा परम्परागत सोच अन्य गर्दै नयाँ योजनाका साथ अघि बढ्नुपर्ने धारणा राखे । हरेक विकास निर्माणमा अवरोध हुन नुहुने भन्दै उनले त्यसको सुरक्षा राज्यले गर्ने प्रतिबद्धता जनाए ।
धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सीतारम कट्टेलले रङ्गशाला निर्माणमा भइरहेको कामको प्रगतिबारे मुख्यमन्त्री पौडेललाई जानकारी गराएका थिए उनले प्रदेश सरकारबाट विनियोजन भएको बजेट सहज रुपमा रङ्गशाला निर्माणका लागि खर्च गर्ने वातावरण मिलाइदिन आग्रह गरे । रङ्गशाला निर्माणले तीव्रता लिएको भन्दै उनले बजेटको भने अभाव रहेको बताए । फाउण्डेशनले शिलान्यास भएको दुई वर्ष्भित्र निर्माण सम्पन्न गर्नेगरी रङ्गशाला निर्माण अघि बढाएको हो ।
सो अवसरमा प्रदेशसभा सदस्य विजय सुवेदी, मुख्यमन्त्रीका राजनीतिक सल्लाहाकार जेएन थपलिया, चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई लगायतको उपस्थिति रहेको थियो ।


